नितेश कर्ण, वीरगंज, २० असार/

पर्सा, बारा र रौतहटसम्म फैलिएको गण्डक नहरमा बुधवारदेखि पानी आएको छ ।

भारतीय पक्षले मङ्गलवार राति पानी छाडे पनि बुधवारदेखि नहरमा पानी आएको नारायणी सिंचाइका सूचना अधिकारी एवं इन्जिनीयर सुरेशप्रसाद साहले बताए ।

भारतीय पक्षले धान रोपाइँका लागि गण्डक नहरमा असार १५ अगावै पानी दिनुपर्ने प्रावधान भएपनि नहर मरम्मतको बहाना बनाएर यसपटक एक साता ढिलो पानी छोडेको हो ।

सूचना अधिकारी साहले भारतसँगको गण्डक सम्झौता अनुसार गहुँबालीको लागि पुस १ गते र धानबालीको लागि असार १५ गते ८५० क्युसेक पानी दिनुपर्ने बताए ।

भारतको झमरी नदीमा नहरको संरचनामा लिकेज भएको कारण यसपटक एक साता ढिलो पानी छाडिएको बताइएको छ ।

गण्डक ब्यारेजको निर्माण भारतले गरेको र सञ्चालन पनि भारतले नै गर्छ । गण्डक ब्यारेजबाट नेपालमा भन्दा भारतीय भूमिमा बढी पानी लैजाने गरिएको छ । सन् १९७५ र ७६ मा दुर्ई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको थियो । गण्डक नहरबाट पर्सा, बारा र रौतहटका ३७ हजार चार सय हेक्टर जग्गा सिञ्चित गर्ने लक्ष्य रहे पनि बर्सेनि कुनै न कुनै समस्या देखाउँदै भारतले सम्झौता अनुरूपको ८५० क्युसेक पानी नेपाललाई दिंदैन ।

पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाइ नेपालतर्फ ८१ किमी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here