पर्सा जिल्ला पटेर्वासुगौली गाउँपालिका–४ फरहदवाका विकाश राउत थारू परमपिता परमेश्वरको नामले चर्चामा आएका छन् । उनी चर्चामा आउनुको कारण चिकित्सकीय उपचार विधिबाट असाध्य रोग निको नभएकाहरूको पनि रोग निको भइरहेको भन्ने हल्लाबाट हो । विकाश जन्मजात हिन्दू थिए र अहिले उनले क्रिस्चियन धर्म अँगालेका छन् । उनले धर्म परिवर्तन गरेपछि यो अलौकिक शक्ति प्राप्त गरेको चर्चा छ । एक वर्षदेखि उनले शिविर सञ्चालन गर्दै आएका छन् र अहिले शिविरमा मानिसहरूको सहभागिता बढेको छ । १७ वर्षीय थारू यसअघि चितवनमा १२ वर्षकै उमेरदेखि कृष्ण आलेमगरको शिष्यका रूपमा कार्यरत थिए । चितवनमा पाँच वर्षको साधनापछि उनमा यो अलौलिक शक्ति प्राप्त भएको र त्यही शक्तिबाट अहिले असाध्य रोगहरू पनि निको गरिरहेका उनका समर्थकहरू बताउँछन् । बोतलमा पानी राख्ने र त्यसलाई मन्त्राएर बिरामीलाई दिने अनि बिरामीको रोग छुमन्तर हुने हल्ला चलाइएको छ ।

पर्सा जिल्लामा यस प्रकारका अलौकिक शक्तिको प्रदर्शन नयाँ नौलो होइन । अझ छिमेकी जिल्ला बारामा यस प्रकारका गतिविधिहरू धेरै पहिलेदेखि हुँदै आएका छन् । हाल कलैया उपमहानगरपालिका र पहिलेको उत्तरझिटकैया गाविस अन्तर्गतको दोहरीमा असाध्य रोगहरू निको गर्ने एकजना ठाकुर थरका व्यक्तिको केही वर्ष निकै चर्चा चल्यो । पर्सा, बारा, रौतहट र छिमेकी भारतका विभिन्न स्थानबाट मानिसहरू रोग निको पार्नका लागि सो ठाउँमा गए । परम्परागतरूपमा मानिसको हजामत गरेर जीविकोपार्जन गर्दै आएका ती ठाकुरले जङ्गलबाट लाजवन्तीको झार ल्याउँथे र नदीको बालुवासँग लाजवन्तीको झार खान लगाउँथे । उनको यो विधिबाट धेरैजना निको भएको हल्ला चलाइएको थियो । असाध्य रोगहरू क्यान्सर, मिर्गौला, मुटु, ग्यास्ट्रिक, अनि त्यतिखेर उपचार नहुने एचआइभी एड्सका बिरामीहरू पनि निको भएका हल्ला चलेपछि गढीमाईको मेलाझै भीड भएको थियो । करीब साढे दुई दशकअगाडिको यो घटना पछि त्यत्तिकै सेलाएर गयो । त्यसअघि महुवाको रूखबाट बोक्सी लागेको उपचार हुने गरिएको हल्ला पनि नचलेको होइन । बोक्सी लागेकाहरूलाई गढीमाई मन्दिरअगाडिको महुवाको रूखअगाडि सुताउने र त्यस्तालाई रूखले तान्ने गरेको अनि रोगको उपचार हुने गरेको हल्ला पनि त्यत्तिकै चलेको थियो । खासगरी महिलाहरूलाई गढीमाई मन्दिरमा रहेको महुवाको रूखनजीक राखेर बोक्सी लागे नलागेको परीक्षण गरिन्थ्यो । बारा जिल्ला यस प्रकारका हल्लामा चर्चित छ ।

केही वर्षअगाडि निजगढका तपस्वी रामबहादुर बमजनको कारनामाको चर्चा चलाइएको थियो । अहिले ती तपस्वीमाथि विभिन्न थरीका आरोपहरू छन् र अरूको रोग निवारण गर्ने उनी आफैं कानूनको दोषी भएर फरार छन् । बारा जिल्लामा नागमणिको नाममा अहिलेसम्म ठगीधन्धा जारी छ । नागमणि कसैले नदेखे पनि त्यहाँका ठगहरूले यसको हल्ला चलाएर ठगी गर्ने काम गर्दै आएका छन् । नागमणिकाण्डमा अहिलेसम्म कतिजनाले ज्यान गुमाए भने कतिजना जेलजीवन बिताइरहेका छन् । हाम्रो समाजमा अन्धविश्वासले नराम्ररी जरो गाडेको छ । कुनै पनि कुराको वास्तविकता पत्ता नलगाएर हल्लाको भरमा उफ्रने र कुद्ने गर्नुहुँदैन, यस्ता हल्लाको पछि लाग्दा पछुताउनु मात्र पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here