प्रस, सेढवा, १९ असार/
असार महीनाको तेस्रो सातासम्म आवश्यकता अनुसार पानी नपर्दा पर्साका किसानहरूले वर्षेबाली धानको रोपाइँ गर्न सकेका छैनन् ।
असारको दोस्रो सातादेखि धान रोपाइँ गर्नुपर्नेमा वर्षा पर्याप्त नहुँदा यस वर्ष रोपाइँ ढिलो हुने भएको छ ।
जेठ महीनाको दोस्रो सातामा धानको बीउ छरेपछि २०–२५ दिनपछि रोप्ने गरिन्छ । तर अहिले बीउ छरेको ३५ दिन बितिसक्दा पनि सिंचाइको अभावमा रोपाइँ हुन सकेको छैन । जसका कारण भदई धान अन्तर्गतका भदई मन्सुली, १४४२, सोना सारो, मणि मन्सुली र हाइब्रिडका उन्नत जातका धानका बीउ बेर्नामैं छिपिन थालेका छन् ।
बीउ तोकिएको अवधिभन्दा बढी समय भएपछि रोपाइँ गर्दा बिरुवा सपर्ने सम्भावना कम तथा वृद्धि नहुने किसानहरूको भनाइ छ । यी प्रजातिका धानबालीहरू सिंचाइ सुविधा नभएका तथा माथिल्लो सतह भएका जमीनमा लगाइन्छ । आवश्यकताभन्दा निकै कम वर्षा भएका कारण सिंचाइ अभावले भदई मन्सुलीका साथै अगहनी धानबाली पनि प्रभावित भएको छ ।
तीन/चार दिनदेखि बिहानीपख टिपटिप गरेर भइरहेको वर्षाबाट खेतमा भएका माटाका ढिस्का मात्र भिज्ने गरेको किसानहरू बताउँछन् ।
गण्डक नहरदेखि पश्चिम, उत्तर थरुहट क्षेत्रको ठोरी, जगरनाथपुर, जीराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिका क्षेत्रभित्रका किसानहरूले अहिले कुलो तथा भूमिगत सिंचाइको प्रयोग गरी रोपाइँ शुरू गरेका छन् । तर लामो समयदेखि पानी पर्न नसकेर कुलोहरूबाट पनि थोरै मात्रामा पानी आइरहेकाले समस्याको समाधान हुन नसकेको किसानहरूको गुनासो छ । धान रोपाइँका लागि कुलोबाट सिंचाइ गर्दा एक बिघा जमीनमा तीन/चार दिनसम्म समय लागिरहेको पटेर्वासुगौली गापा–५ का किसान सुरेश चौधरीले बताए । कुलोबाट सिंचाइ गर्न पनि समस्या भएकोले भूमिगत सिंचाइमा आश्रित हुनुपरेको चौधरीले बताए । विद्युतीय सिंचाइ प्रक्रियाबाट सिंचाइ गर्दा किसानहरूलाई सस्तो र सुलभ हुने गरेको उनले बताए । तर सिंचाइका लागि नेपाल विद्युत् प्राधिकरणले सबैतिर विद्युत् प्रसारणका लागि पोल र तार जडान नगरिदिएकोले यो सेवासुविधाबाट पनि थोरै मात्र किसान लाभान्वित भएका उनको भनाइ छ ।
जीराभवानी गापा–२ का किसान मोहनदास थारूका अनुसार लामो समयदेखि पानी नपरेकोले जमीनको भित्री भागसम्म सुक्खा भएकोले सिंचाइ गर्न निकै समय लाग्ने गरेको र यस कार्यमा इन्धनको खर्च बढेको बताए । किसानहरूले अहिले रोपाइँ गर्न एक बिघा खेतमा सिंचाइ गर्दा २५ लिटरसम्म डिजेल खर्च भइरहेको थारूको भनाइ छ । पम्पसेट भाडामा लिएर सिंचाइ गर्दा प्रतिघण्टा तीन सय रुपैयाँको दरले १५ हजार रुपैयाँ एक बिघा खेतको सिंचाइमा खर्च हुने गरेको उनले बताए । यसैले महँगो सिंचाइको प्रयोगबाट अहिले यो क्षेत्रमा करीब सात प्रतिशत मात्र धान रोपाइँ भएको उनले बताए । यता बजियान क्षेत्रका किसानहरू भने सिंचाइको लागि आकाशको मात्र भरपर्दा अहिलेसम्म बीउसम्म छर्नेे कार्य पूरा गर्न सकेका छैनन् । सीमित किसानले तयार गरेका बीउ पनि खेतमा नष्ट हुने क्रममा छन् । यो क्षेत्रमा किसानहरूले रोपनी शुरू गर्न सकेका छैनन् ।