प्रस, वीरगंज, १५ असार/

२०औं राष्ट्रिय धान दिवस पर्साका स्थानीय पालिकाहरूले रोपाइँ कार्यक्रम गरी मनाएका छन् ।  ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ मूल नाराका साथ असार १५ गते राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले रोपाइँ कार्यक्रम गरेका छन् ।

प्रस, पोखरिया/

पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहानले कृषिलाई मध्यनजर गरेर यसपालिको बजेट विनियोजन गर्न लागेको बताएका छन् ।

पोखरिया नगरपालिकाले २०औं राष्ट्रिय धान दिवसको अवसरमा वडा नं ५ सतवरियामा आयोजना गरेको रोपाइँ कार्यक्रममा उनले किसानहरूको सिंचाइ समस्या समाधान गर्ने बताए । उनले कृषिप्रधान देश भने पनि किसानलाई सधैं बीउ, मलखादको समस्या हुने गरेको बताए ।

कार्यक्रममा उपप्रमुख रूबी ठाकुर, प्रशासन शाखा प्रमुख अजय श्रीवास्तव, वडाध्यक्षहरू लक्षुमन साह कानू, किशोरी साह, महिन्द्र चौहान, परमानन्द कुर्मी, एमाले नगर अध्यक्ष विन्ध्याचल ठाकुरलगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन विजय झाले गरेका थिए ।

नरेश यादव, पर्सागढी/

पर्सागढीका प्रमुख गोकर्ण पाठकले  नगरपालिकामा अहिले कृषिमा विकास भएको बताएका छन् । पर्सागढी नपा कृषि शाखाको सहयोग र सूर्यविनायक कृषक समूहको आयोजनामा भएको रोपाइँ महोत्सवमा उनले बाँच्नको लागि अन्नको आवश्यकता पर्ने बताए ।

नगरप्रमुख पाठकले पर्सागढीका अधिकांश व्यक्ति कृषिमा निर्भर रहेको बताए । उनले नगरपालिकालाई मल आयात गर्ने अधिकार नभए पनि मल वितरणमा सहजीकरण गर्न सक्ने बताए । उनले आयातीत मल प्रयोग गर्नुको साटो जैविक मलखाद बनाइ प्रयोग गर्न जोड दिए ।

प्रमुख प्रशासकीय अधिकृत छविरमण भट्टराईले किसानलाई आवश्यक पर्ने मलखाद तथा सिंचाइ सुविधा नभएकाले अहिले भारतबाट चामल आयात गर्नुपरेको बताए ।

समूहका अध्यक्ष राजु यादवको अध्यक्षतामा भएको कार्यक्रममा कृषि शाखा प्रमुख झरना क्षत्री, कृषि प्राविधिक खड्गबहादुर खत्री, शिवपूजन महतो, मीरा चौधरी, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद पौडेल, वडाध्यक्ष्F सुकमान तामाङ, शङ्कर रायभरले मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत रमेश यादव र सहजीकरण सपना बाँस्तोलाले गरेका थिए ।

प्रस, ठोरी/

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, पर्साले पर्साको सुदूरपश्चिम गाउँपालिका ठोरीमा २०औं राष्ट्रिय धान दिवस मनाएको छ ।

वडा नं ३ बुद्धनगरको ओडारमा रोपाइँ महोत्सव आयोजना गर्दै धान दिवस मनाएको हो । वडाध्यक्ष शम्भु खड्काको अध्यक्ष्Fता एवं ठोरी गापा अध्यक्ष लालबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति, पर्साका उपसभापति पुरनप्रसाद कुर्मी, पूर्वउपसभापति ठाकुरप्रसाद न्यौपाने, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा राजकिशोर साह, कृषि औजार अनुसन्धान निर्देशनालय मधेस प्रदेशका निर्देशक डा विपी यादव, कृषि ज्ञान केन्द्र, पर्साका प्रमुख मुनीलाल प्रसाद, जीराभवानी गापा–४ का अध्यक्ष राजेश्वरदास थारू,   इलाका प्रहरी कार्यालय ठोरी, सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट ठोरी, ब्रह्मनगरलगायत सुरक्षा निकायका अधिकारी एवं स्थानीय किसानहरूको सहभागिता थियो ।

कार्यक्रममा प्रमुख अतिथि गापा अध्यक्ष श्रेष्ठले ठोरीलाई जहिले पनि विभेद र कम सेवासुविधा दिने आँखाले हेर्ने भएकोले यसमा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । उनले ठोरीले मल, खाद, सिंचाइ, बिजुली र बजेटमा पनि विभेद खेप्दै आएको र त्यसलाई सच्याएर अगाडि बढ्नुपर्ने सुझाव दिए ।

प्रस, कलैया/

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ बाराको आयोजनामा २०औं राष्ट्रिय धान दिवस बारामा पनि मनाइएको छ ।

सुवर्ण गाउँपालिका–४ हर्दियामा सेमरमाई कृषि सहकारी संस्थाको सहआयोजनामा भएको कार्यक्रममा धान रोपाइँ महोत्सव आयोजना गर्दै यो दिवस मनाइएको हो ।

सहकारी संस्थाका अध्यक्ष अशोककुमार यादवको अध्यक्षता एवं बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सुवर्ण गापाकी उपाध्यक्ष पूनम यादव, बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, अनुसन्धान उपनिर्देशक अभिनयकुमार सिंह, कोष नियन्त्रक वीरेन्द्रप्रसाद घिमिरे, कृषि ज्ञान केन्द्रका प्रतिनिधि राजवंशी चौरसिया, सशस्त्र प्रहरी बल बाराका प्रनाउ रवीन्द्र सिलवाललगायतको सहभागिता रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, बाराका प्रमुख हेमचन्द्रकुमार जैसवारले जानकारी दिए । कार्यक्रमको सहजीकरण आयोजक कार्यालयका कृषि अधिकृत आर्या जोशीले गरेका थिए ।

रतनपुरमा धान दिवस मनाइयो

प्रस, निजगढ/

 ‘असारे मास छिपछिपे हिलो बाउसेलाई पर्यो बल, जसोतसो रोपियो धान नपाइने हो कि मल’ यो उद्गार २० औं राष्ट्रिय धान दिवसको होईन । यो त तराई–मधेश, पहाड, हिमाली भेगका आम किसानहरूका सत्य अनि अर्थात पीडा हो । जसो तसो बिउ, विजन रोपिन्छ । तर् आवश्यक समयमा आवश्यक मात्रामा न रासायनिक मलखाद, न त औषधी भिटामिनलाई उपलब्ध हुन्छ । यो वर्षौदेखिको राष्ट्रिय समस्या हो । तर् पनि सामाधान हुन सकेको पाईदैन ।

यता भने, राज्यले ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ नारा दिएर आज असार १५ गते देशभर राष्ट्रिय धान दिवस मनाउन संघिय सरकारले निर्देशन दिएका छन । सोही अनुसार निजगढ नगरपालिका ११ रतनपुरीमा निजगढ नपाको आयोजनामा सामुहिक धान रोपाइँ गरेको छ ।

यस कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख सोममाया थिङ्गले उदघाटन गर्दै खेतीबाली उत्पादनलाई प्राथमिकतामा राखेर निजगढ नगरले नीति बनाएको बताउदै खेतीयोग्य जमीनको संरक्षण अहिलेको चुनौती रहेको बताईन् । वर्षौदेखि रासायनिक खादमल संघिय सरकारद्वारा उपलब्ध गराउनु पर्ने भएपनि वर्षेनी मलको अभाव हुदै आई रहदा स्थानीय तह टुलूटुलु हेरेर बस्नुको अर्को कुनै विकल्प नभएको उनले भनिन् ।

कार्यक्रमका विशिष्ठ अतिथि प्रमुख प्रशासकिय अधिकृत राजमणी निरौलाले मुलुकभरीको तथ्यांक हेर्ने हो भने, खेतीयोग्य जग्गा जमीन प्लटिङ्गमा परिणत हुदै गई रहेसंगै सरकारले भू–उपयोग नीतिलाई अवलम्बन गर्दै कडाईका साथ पालना गर्न नराउन स्थानीय तहहरूलाई परिपत्र गरी यस अघि नैं निर्देशन गरेको बताए । स्थानीय किसान, कृषकहरूले बिउ विजन रोपेर उत्पादनमा लाग्दै आई रहेपनि समयमा नैं रासायनिक मल लगायतका आवश्यक सामाग्री उपलब्ध हुन नसक्दा कृषि उत्पादनमा बढी लगानी र उत्पादनमा निक्कै कमी आई रहेको समेत उनले भने ।

त्यसैगरी स्थानीय कृषि उत्पादनलाई प्रोत्साहन गर्नु पर्ने, समयमा नैं बिउ विजन, मल उपलब्ध गराउन निजगढ नगरपालिकाले पहल गरिदिन कृषकहरूले आग्रह गरे ।

कार्यक्रममा स्थानीय शंकर रूम्बा, भोला गौतम, वडाअध्यक्ष सहैया गुरो, आशाकाजी श्रेष्ठ, ज्ञान बहादुर गोले लगायतले मन्तब्य राखेका थिए । सो धान रोपाइँमा रतनपुरी र निजगढका विद्यासागर बोडिङ्ग स्कूलका विद्यार्थीहरू पनि सहभागी थिए । कार्यक्रममा स्वागत मन्तब्य कृषि शाखाकी रिनिचा भण्डारी र युगलकिशोर सिंहले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here