प्रस, वीरगंज, १५ असार/
पर्साका स्थानीय तहका जनप्रतिनिधि र सरोकारावालाहरू शुक्रवार विभिन्न गाउँमा पुगी धूमधामका साथ धान दिवस मनाएको देखेर किसानहरू अचम्ममा परेका छन् । दमकलबाट खेतमा सिंचाइ गरी धान रोपेर उनीहरू आफैंबीच खुशी मनाएर गएपछि किसानहरू जिल्ल परेका हुन् ।
पर्साका अधिकांश किसानको खेतमा पानी छैन । पानीको अभावमा किसानले धानको बीउसमेत छर्न सकेका छैनन् । छरेको बीउ पनि खेतमा घामले जलेर नष्ट भएको छ । तर आज एक दिन सरोकारवाला र जनप्रतिनिधिहरूले धान दिवसमा रमाइलो गरी रोपाइँ गरेको भन्दै फोटो खिंचेर फेसबूकमा राख्ने र दही, च्युरा, आँप खाएर गएको देखेपछि किसानहरू जिल्ल परेका हुन् ।
एकजना किसानले हाकिमहरूलाई सबै कुरा थाहा भएपनि उनीहरू किसानको लागि केही गर्न चाहँदैनन् । हरेक वर्ष धान दिवस भनेर रमाइलो गर्ने र फेसबूकमा फोटो राखेर हाकिमसाबलगायतले धान दिवस मनाउनुको औचित्य नरहेको उनले बताए । अहिले सामाजिक सञ्जालमा जनप्रतिनिधि र सरोकारवालाहरूको यस प्रकारको क्रियाकलापको चर्को आलोचना भइरहेको छ ।
स्थानीय सरकार गठन भएको छ वर्ष हुन थाल्यो तर किसानको खेतसम्म पानी पुर्याउन चासो नदेखाएको उनले बताए ।
किसानहरूको लागि छुट्याएको बजेटमा पनि बिचौलियाहरूले आँखा गाडेका छन् । खेतहरूमा जडान गरिएका बोरिङबाट पानी आउँदैन, वितरण गरिएको मोटर तथा दमकल कमसल भएकाले बिग्रेको किसानहरूको भनाइ छ ।
लङ्गडीका ताराचन्दप्रसाद कलवारले यस वर्ष समयमा पानी नपर्दा किसानहरू धेरै मर्कामा परेको बताए । आर्थिक सङ्कटमा फस्दै गइरहेका किसानहरूको लागि एकमात्र आम्दानीको स्रोत खेतीपातीको लागि मल, बीउ र सिंचाइ समयमा नपाउँदा यस वर्ष परिवार पाल्नसमेत कठिन हुने कलवारले बताए ।
कृषिप्रधान देश नेपालको तराई–मधेस अन्नभण्डार भएपनि यहाँका किसानहरूको समस्या सरकारले नबुझेको उनले बताए । स्थानीय पालिकाले पनि किसानहरूको समस्या नबुझेको उनको भनाइ छ ।
पर्साका १४ वटा पालिकाले रु एक लाखदेखि तीन लाख रकम धान दिवसको लागि विनियोजित गरेर भ्रष्टाचार गरेको आरोप एकजना किसानले लगाए ।
४०/५० जनालाई दही–च्युरा, आँप खुवाएर उक्त बजेट सिध्याएको उनको भनाइ छ । सो रकमबाट एउटा दमकल किनेर सार्वजनिक प्रयोगको लागि किसानलाई दिएको भए त्यसको सदुपयोग हुने किसान कलवारले बताए ।