प्रस, सिम्रौनगढ, १५ असार/
सिम्रौनगढ नगरपालिकाका बालविकास, विद्यालय कर्मचारी, नगर शिक्षक र सहायक कर्मचारीहरूले तलब माग गर्दै शुक्रवार धर्ना दिएका छन् ।
श्रम शोषण गर्न पाइँदैन, तलब कटौती गर्न पाइँदैनलगायतका नारा लगाउँदै शिक्षिका पूनमकुमारी यादवको नेतृत्वमा निस्केको विरोध जुलुस नगरपालिकामा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बारा शिक्षक सङ्घका उपाध्यक्ष सुभाषचन्द्र यादव, टे«ड युनियन सदस्य सुरेन्द्र यादव, सिम्रौनगढ नगर शिक्षक सङ्घका अध्यक्ष उमाशङ्करप्रसाद यादव, सङ्गीता जयसवाल, सीतादेवी यादवले मन्तव्य राखेका थिए ।
धर्नामा बसेकाहरूसँग नगरप्रमुख किशोरीप्रसाद कलवारले छलफल गरी आइतवार वार्ता गर्ने सहमति गरेपछि आन्दोलनकारीहरूले धर्ना टुङ्ग्याएका थिए ।