प्रस, निजगढ, ०९ असार/
निजगढ नगरपालिकाको १२ औं नगर सभा शनिवार सम्पन्न भएको छ । निजगढ नगरपालिकाका नगर प्रमुख एवं सभाध्यक्ष सुरथ पुरीको अध्यक्षतामा नगरसभा सम्पन्न भएको छ ।
सो सभाले वार्षिक नीति, कार्यक्रम र बजेट सर्वसम्मत पारित गर्दै आर्थिक वर्ष २०८०/०८१ सालका लागि ८० करोड १५ लाख ८६ हजार विनियोजन गरेको छ । जसमध्ये २५ करोड ७२ लाख सङ्घीय सरकारबाट तोकिएर आउने छ ।
उक्त वार्षिक नीति, कार्यक्रममा स्वास्थ्य, शिक्षा, युवा, कृषि तथा भूमि, खानेपानी, राजस्व, श्रम र रोजगार, वित्तीय संस्था तथा सहकारी, वन तथा वातावरण, पर्यटन, संस्थागत विकास र सुशासन, महिला, बालबालिका तथा जेष्ठ नागरिक, विपद व्यवस्थापन, पूर्वाधार, भाषा, कला, साहित्य र संस्कृति, फोहोर मैला व्यवस्थापनसम्बन्धी नीति समेट्दै निजगढ नगरको दिगो विकास, नगरवासीका सकारात्मक आकाङक्षाहरू सम्बोधन हुनेगरी वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको नगर उपप्रमुख सोममाया थिङले बताइन् ।
प्रस्तुत वार्षिक नीति, कार्यक्रमले समग्र पक्षलाई समेटेपनि कार्यान्वयनमा भने आशङ्का रहेको कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले भने । हालका जनप्रतिधिहरू निर्वाचित भएसँगै पहिलो नगर कार्यपालिका बैठकबाट निजगढ नपा ८ खयरघारी सुकुम्बासी बस्तीलाई नमूना बस्तीका रूपमा विकास गरिने निर्णय भए तापनि यस वर्षको वार्षिक नीति, कार्यक्रम र बजेटमा उक्त कुरा समेटिएको छैन ।
कार्यक्रममा नगरप्र्रमुख एवं सभाध्यक्ष सुरथ पुरीले वार्षिक नीति, कार्यक्रम र बजेटमाथि सङ्क्षिप्त मन्तव्य राख्दै यसको पूर्ण पालना गर्दै सफलतामा पुर्याउन सबै जनप्रतिनिधि, नगरवासीलाई आग्रह गरे । देशभरका अन्य नगरपालिकाहरूमा जस्तै यस नगरभित्र पनि विकासका अन्य गतिविधि गतिशील रहेको बताउँदै प्राथमिकतामा परेका विकास कार्य सञ्चालन गरिने उनले बताए ।
बितेको जेठको पहिलो साता निजगढ नपाको आयोजना र गभर्नेन्स एन्ड डिभाइन सोलुशन, काठमाडौंको प्राविधिक सहयोगमा सम्पन्न चार दिने कार्यशाला गोष्ठीमा निजगढ नगरपालिकाको १५ लाख खर्चमा आवधिक नगर विकास योजना तथा मध्यकालीन खर्च संरचना रणनीति तर्जुमा र मधेस प्रदेश प्रशिक्षक प्रतिष्ठानबाट ५ लाख खर्चमा राजस्व सुधार रणनीति तर्जुमा प्रतिवेदन तयार गर्न कुल २० लाख खर्च गरेपनि समयमा प्रतिवेदन उपलब्ध नभएको निजगढ नगरप्रमुख सुरथ पुरीले बताए ।
वार्षिक नीति, कार्यक्रम र बजेटका लागि अति आवश्यक सो पूर्ण प्रतिवेदन समयमा प्राप्त नहुँदा सहभागी जनप्रतिनिधि, स्थानीय राजनीतिक दल, विभिन्न सरोकारवाला संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग परामर्श र छलफलमा उठेका सवाल सुझाव नसमेटेर वार्षिक नीति, कार्यक्रम र बजेट ल्याउन निजगढ नपा विवश भएको निजगढ नपाका कर्मचारीले भने ।
आज सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य, लगायत सञ्चारकर्मीहरूको सहभागिता थियो ।