प्रस, वीरगंज, ८ असार/
वीरगंज महानगरपालिका कार्यालयले नालामाथि बनेका घरहरूका कारण महानगरको मुख्य नाला सफाइमा समस्या भएपछि सोविरुद्धको अभियान चलाउने सुरसार देखाएको छ ।
भौतिक पूर्वाधार अतिक्रमण नियन्त्रण समितिका संयोजक वडाध्यक्ष प्रदीप चौरसियाले शुक्रवार नालामाथि बनेका संरचनाहरू हटाउनेतर्फ महानगरले नापजाँच गरी चिह्न लगाएको बताए । उनले नालामाथि बनेका संरचनाका कारण महानगरको मुख्य नाला सफाइ अभियान प्रभावित भएको र वर्षायाममा डुबानमुक्त गर्न मुख्य नाला सफाइ गर्न अत्यावश्यक भएको बताए ।
उनले मुख्य नाला सफाइ अभियान जिल्ला प्रशासन कार्यालयबाट शुरू भएको र क्लासिक होटलमा आएर रोकिएकोमा सोलाई निरन्तरता दिन नगरप्रमुख स्वयंले यसअघि असार २ गते स्थलगत निरीक्ष्Fण गरेको र आज प्राविधिक टोली खटेर चिह्न लगाउने काम गरेको बताए ।
तीन दशकअघि विश्व बैंकको सहयोगमा तत्कालीन नगरपञ्चायतले बनाएको दश फिटे नाला पछिल्लो समय एशियाली विकास बैंकको सहयोगमा महानगरमा सञ्चालित मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना अन्तर्गत सो नाला विस्तार कार्य भएको थियो । क्लासिक होटल, शिवप्रसाद साहको घर र हरि खेतान बहुमुखी क्याम्पस नालामाथि बनेका कारण सफाइमा समस्या भएको उनले बताए ।