प्रस, वीरगंज, ८ असार/
ट्रान्सपोर्ट एशोसिएशन, पर्साको आन्दोलन सहमतिपछि स्थगित भएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको पहलमा बिहीवार साँझ सहमति भएको र शुक्रवारदेखि सबै ट्रान्सपोर्ट सञ्चालनमा आएको अध्यक्ष बालकृष्ण पोखरेलले बताए ।
उनले हिजो जिल्ला प्रशासन कार्यालयमा सहमति भएपश्चात् प्रजिअलाई बुझाइएको ट्रान्सपोर्टका साँचो फिर्ता पाएको र आजदेखि सहमति अनुसार ट्रान्सपोर्ट सञ्चालनमा ल्याएको बताए ।
हिजो बसेको बैठकमा एशोसिएशनले राखेका मागहरू सम्बोधन गर्दै राजस्व अनुसन्धानमा भौतिक गणनालाई यथाशक्य छिटोछरितो बनाउने, त्रुटि देखिएको पार्टीको मात्र मालवस्तुहरू होल्ड गरी बाँकी सामान र साधनलाई गन्तव्यतर्फ जान दिने, काठमाडौं गन्तव्य भएको ढुवानी साधनको चेकजाँच राजस्व अनुसन्धान कार्यालय, पथलैयाबाट गराउने व्यवस्था मिलाउने सहमति भएको अध्यक्ष्F पोखरेलले बताए ।
ट्रान्सपोर्ट एशोसिएशनले असार ४ गते सोमवारदेखि वीरगंजका ५५ वटै ट्रान्सपोर्ट बन्द गरेर आन्दोलन शुरू गरेको थियो । एशोसिएशनले बिलबीजकभन्दा बढी सामान भएको आरोपमा प्रहरीले खुद्रा सामान ढुवानी गर्ने व्यवसायीहरूको सवारीसाधन राजस्व अनुसन्धानमा पठाएर दुःख दिने गरेको र सो कार्य रोकिनुपर्ने माग गर्दै आन्दोलन गरेको थियो ।
प्रहरीले राजस्वमा पठाएका कैयौं सवारीसाधन कारबाईमा नपरेका तर एक/दुई जना पार्टीको गलतीले सबैले दुःख भोग्ने गरेको र व्यवसायीले १० दिनसम्म राजस्व अनुसन्धानमा धाउनुपर्दा अहिलेको आर्थिक मन्दीमा व्यवसाय धराशयी भएको भन्दै एशोसिएशनले सबै व्यवसायीको ऐक्यबद्धतामा आन्दोलन चर्काएको थियो । तीन दिन चलेको आन्दोलनबाट ७७ जिल्लामा ढुवानी व्यवसाय प्रभावित भएपछि हिजो दुवै पक्षबीच छलफल भएको र सोमा सहमति भएपछि आजदेखि ट्रान्सपोर्ट पूर्ववत्रूपमा सञ्चालनमा आएको अध्यक्ष पोखरेलले बताए ।