- डा शिवशङ्कर यादव
पाठकवृन्द डेलिरियम वा मतिभ्रम राम्ररी बुझाउनको लागि मैले आफ्नी आमाको उदाहरण पेश गरेको थिएँ । आजको पालो डिमेन्सिया अथवा मतिध्वंसको हो । भ्रम र ध्वंसमा जमीन आकाशको अन्तर छ । भ्रममा मतिको बेसिक काम रहिरहन्छ र क्लाउडिंग मात्र हुन्छ तर मतिध्वंसमा केही पनि बाँकी रहँदैन, यसमा क्लाउडिंग हुँदैन । यसलाई पनि बुझाउन म एउटा उदाहरण दिन चाहन्छु । मेरा भिनाजूलाई भान्जाहरूले जेनेरल फिजिसियन देखाउन ल्याए किनभने उनी बेला बेला धेरै जिद्दी गर्ने र अनर्गल तथा अनापशनाप बोल्न थालेका थिए । मैले उनलाई जेनेरल फिजिसियनको होइन, मनोचिकित्सकको केस भनेर डाक्टरलाई फोन गरें । डाक्टरले साँझमा मात्र आउन सक्ने बताए । हामीसँग पर्खनु सिवाय कुनै उपाय थिएन । त्यसबीच मैले के देखें भने हरदम हँसीठट्टा गर्ने भिनाजु एकदम मौन बसेका छन् । हामीलाई उकुसमुकुस हुन थाल्यो तर उनी तीन–चार घण्टा विनाशिकायत बसी रहे । यस विचित्र कुरालाई मैले नोट गरें र डाक्टरलाई बताएँ । डाक्टरले नाम सोधे, छोराको नाम सोधे, सबै बताए । फेरि डाक्टरले सोधे मैले के सोधें ? त्यो भने बताउन सकेनन् । विशेष कुरा साथमा आउनेहरूले बताए । औषधि लिएर उनी घर गए । औषधि नखाने, अरूले खुवाई दिए नरोक्ने । केही दिनपछि खाना खाने तर खान नदिएको गुनासो गर्ने । नुहाउने र मुख धुने कुरा बिर्सने । सम्झाउँदा ‘हो र’ भनी सोध्ने । स्पष्ट छ औषधिले केही काम गरेन । गरोस् पनि कसरी ? त्यो त जेरियाट्रिसियन केस थियो । आजभोलि मात्र त्यसको वास्तविकता र पीडा बुझेर पश्चिममा त्यसका लागि धेरै सफोस्टिकेटेट इन्सिटिच्युशनहरू बनेका छन् । पहिले त रामनाम सत्य सिवाय डिमेन्सियाको कुनै उपचार थिएन । एक वर्षपछि उनलाई हेर्न उनको गाउँ पुगें । कसैलाई चिन्ने शक्ति खतम । छोराछोरी कसैलाई पनि नचिन्ने । पीडा भइरहेको छ, तर भन्न नसक्ने । सुत्दा कहिले यता र कहिले उता गर्ने तथा सुत्न नसक्ने । उठाएर बसाइदियो भने बस्न नसक्ने । पहिले साग जनावरको खाजा भनेर खान्थेनन्, अहिले भने सपासप खाने । हुँदाहुँदा दिसापिसाब ओछ्यानमैं भएको थाहै नहुने । छोरा संसद्मामा जितेपछि फूलको माला लगाइदिंदा तोडेर फ्याँक्ने । त्यसको दुर्ई महीनापछि उनी बिते । ७० वर्ष माथिको उमेर, कष्टप्रद जीवन बाँचेर मृत्यु । यही हो डिमेन्सिया वा मतिध्वंसको कहानी ।
यो बिमारी बुढेसकालमा १०० मध्ये प्रायः २ मा देखिन्छ । अमेरिकामा झन्डै चार मिलियनभन्दा बढी मानिस यसका रोगी छन् र ५१०० बिलियन डलरभन्दा बढी बजेट यसमा स्वाहा हुन्छ । ७० वर्ष भन्दा बढी १० प्रतिशत र ८५ वर्षभन्दा बढीका मानिसमा २० देखि ४० प्रतिशत मानिसमा यो रोग देखिन्छ । तर बुढेस कालमा यो हुन्छ नै भन्ने होइन । मानिसको लाइफस्टाइल र पारिवारिक सौहार्द्र, भजन कीर्तनमा रमाएर जीवन बिताउने मानिसमा यो नहुन सक्छ । त्यसकारण यो रोग हामीकहाँ भन्दा पश्चिममा बढी हुन्छ । लैटिन शब्द डिमेन्सबाट यसको उत्पत्ति भएको हो जसको मतलब हुन्छ ः आउट अफ माइन्ड । नोट गर्नुस् डेलिरियम आउट अफ ट्रैक मात्र हो, डिमेन्सिया मतलब पुरै आउट अफ माइन्ड हो । यसैलाई ध्वंस भनिन्छ । सर्वप्रथम यस शब्दको प्रयोग आइसिडोर आर्कविसपले ६०० एडीमा गरेका थिए । फेरि यसको प्रयोग १३ औं सदीबाट भएको देखिन्छ तर मेडिकली यसको प्रयोग १८ औं शताब्दीबाट नै शुरू भयो । जर्मनीमा प्रो. एमिल कार्पिलिनका एकजना प्रतिभाशाली विद्यार्थी थिए डा. एलास एलजाइमर जसले विद्यार्थी छँदै १९०६ मा आफ्नो मरीज अगस्ती डिमेटीमा यस रोगको पत्ता लगाए । ५० वर्षकी ती महिलाको त मृत्यु भयो तर एलजाइमरले त्यसको सबै पैथोलाजीकल फिचर सटीक पत्ता लगाएका थिए । त्यस कारण १९१० मा उनका गुरु प्रोफेसरले आफ्नै शिष्यको नामले यस बिमारीको नाम एलजाइमर्स डिजिज राखे, जुन ब्रेन डिजनरेशन वा खत्म हुने रोग हो । यसको दुर्ई रूप हुन्छ ः प्रिसेनाइल जुन ६५ वर्षभन्दा मुनिकालाई र सेनाइल जुन ६५ वर्षभन्दा बढी उमेरका मानिसमा हुन्छ । मेरा भिनाजुको सेनाइल थियो, जुन क्युरेबल हुँदैन । पछि पछि क्युरेबल डिमेन्सिया पनि पत्ता लाग्यो किनभने ब्रेनले स्वयं नयाँ ब्रेन पैदा गर्ने क्षमता राख्छ । यति भूमिकापछि अब आउनुस् डिमेन्सियाको विस्तृत वर्णनमा प्रवेश गरौं । पाठकवृन्दलाई थाहा हुनुपर्छ कि शरीर क्रिया विज्ञानको वर्णन गर्ने बेला मैले डिमेन्सियाको परचिय दिसकेको छु । तर त्यो विस्तृत थिएन । अब विस्तृत ः
परिभाषा ः डिमेन्सिया रोग होइन, यो डिजोर्डर हो जसमा याद गर्ने, सोच्ने, जजमेन्ट गर्ने, व्यवहार गर्ने र मनलाई एकाग्र गर्ने सक्ने शक्तिमा भयङ्कर ¥हास भई मान्छे दैनिक क्रियाकलाप पनि गर्न असमर्थ हुन्छ ।
यहाँ के स्पष्ट गर्न जरूरी छ भने डिजिज र डिजोर्डरमा फरक के छ ? टिबी एउटा रोग हो त्यसको छुट्टै लक्षण हुन्छ । टिटेनस पनि रोग हो र त्यसको लक्षण अलग हुन्छ । दुवैको लक्षणमा कुनै समानता छैन । यस्तालाई रोग वा डिजिज भनिन्छ । तर कतिपय रोगले एकै किसिमको लक्षण प्रकट गर्छन् । त्यसलाई डिजोर्डर भनिन्छ । तपाईंले यसरी पनि बुझ्न सक्नुहुन्छ कि बाहिरी सङ्क्रमणले पैदा भएको रोग हो तथा शारीरिक भित्री अङ्गको कार्य सम्पादनको कमी डिजोर्डर हो । डिमेन्सिया ब्रेनको कार्यसम्पादनको कमीले परिलक्षित हुन्छ जुन डिमेन्सियाबाहेक अन्र्य मनोरोगमा पनि प्रायः देखिन्छ, जसलाई जाँच गरी छुट्याउने गरिन्छ ।
डिमेन्सियाको प्रकार ः डिमेन्सिया निम्नलिखित पाँच प्रकारको हुन्छ ः
१. अल्जाइमर्स डिमेन्सिया ः यसको पत्ता डा.एलोस अल्जाइमरले लगाएका थिए जुन सबैभन्दा बढी पाइन्छ, ७० प्रतिशतभन्दा पनि बढी । यो साधारतया आइमाईमा बढी हुन्छ । पहिले प्रिसेनाइल र सेनाइल वर्गीकरण गरिए पनि दुवै पैथोलोजीकली एउटै हुन्छ । सबैमा त होइन, तर कोहीकोहीमा यो वंशानुगत पनि हुन्छ । यसमा के के हुन्छ भन्ने परिभाषामा नै दिइसकिएको छ । यस्ता रोगीको पोस्टमार्टम गरेपछि के देखिन्छ भने सिरेब्रल भेन्ट्रिकल ठूलो भएको हुन्छ, सिरेब्रल सल्कसहरू मोटा तर जाइरसहरू पातला हुन्छन् जुन न्युरोन डिजेनरेशनको निशानी हो । बुढेसकालमा ब्रेनमा प्लेक देखिन्छ । नर्भको डिजेनरेशन त हुन्छ नै, साथै रक्त पुर्याउने सूक्ष्म नलिकाहरूको पनि डिजेनरेशन हुन्छ । केमिकली यसमा एसिटाइलकोलिनको मात्रा र कोलिनएसटरेज इनजाइमको पनि कमी हुन्छ । यस प्रकारको डिमेन्सियाको कुनै उपचार छैन । तर आजभोलि रिभास्टिग्मिन, डोनेपिजिल र गेलेन्टामिन नामक औषधि दिनको दुईचोटी खान दिइन्छ र केही सुधार भएजस्तो भए पनि धेरै राम्रो परिणाम हात लाग्दैन ।
२.मल्टिइन्फाक्र्ट डिमेन्सिया ः तपाईंको ब्लडप्रेसर बढ्छ । के के गर्छ त्यसले हामीलाई थाहा हुँदैन । तर भित्रभित्रै बढी भएको बेला ब्रेनका कतिपय सूक्ष्म रक्तनली फुट्दै जान्छ र त्यहाँको न्युरोनलाई निष्क्रिय पारिदिन्छ । यो क्रम बढ्दै गएर अन्तमा डिमेन्सिया देखिन्छ । जुन सूक्ष्म नली फुटेको हुन्छ त्यहाँ एउटा घाउ बनेको हुन्छ जसलाई इन्फाक्र्ट भनिन्छ र त्यसकारण यस्तालाई मल्टिइन्फाक्र्ट डिमेन्सिया भनिन्छ । अल्जाइमर पहिलो र यो दोस्रो नम्बरमा पर्छ, जसको प्रतिशत १० देखि १५ सम्म हुन्छ । यसको उपचार सम्भव छ तर शीघ्र गरिएन भने यो छिटै बढ्छ । धेरै इन्फाक्र्ट जम्मा भएपछि एक दिन अचानक देखिन्छ । जतिजति इन्फाक्र्ट बढ्दै जान्छ त्यति यसको लक्षण पनि बढ्दै जान्छ र एकपछि अर्को सीढीजस्तो पैटर्नमा देखिन्छ । यसको कोर्स तलमाथि भइरहन्छ मतलब कहिले कम त कहिले बढी । अक्सर यसमा हार्ट वा ब्रेन स्ट्रोकको कथा पनि पत्ता लाग्छ र रोगीको ब्लडप्रेसर बढेको पाइन्छ, र रोगी धेरै बढी भावुक भएर गफ गर्छ । इइजीमा फोकल प्वाइन्ट देखिन्छ र सिटी एमआरआईमा इन्फाक्र्टको पहिचान हुन्छ । ब्लडप्रेसर कन्ट्रोल गरेर यसको लक्षण बढ्नबाट रोक्न सकिन्छ ।
३. हाइपोथायरायड डिमेन्सिया ः पाठकवृन्द थायरायड हर्मोनको धेरै कमीले पनि डिमेन्सिया हुन्छ । भन्नु परोइन यो डिमेन्सिया सजिलै इलाज गर्ने र रोगी पूर्ववत् अवस्थामा फर्कन सक्छ तर यो केवल १ प्रतिशत र त्योभन्दा पनि कम केस नै हुन्छ । पूर्ण रिभर्सिबल भएको हुनाले प्रायः प्रत्येक डिमेन्सियामा यसको जाँच अवश्य गरिन्छ कि के थाहा यही हो कि ? यसको क्लिनिकल डायग्नोसिस कठिन हुन्छ । त्यस कारण ल्याब टेस्टले नै पत्ता लगाइन्छ । यदि दुर्ई वर्षभित्र यसको इलाज गरियो भने रोगी पूरै नर्मल जीवन बाँच्न सक्छ ।
४. एड्स डिमेन्सिया कम्प्लेक्स ः एड्स रोगीमध्ये ५० देखि ७० प्रतिशतमा डिमेन्सिया देखिन्छ । एड्स भाइरस सजिलै ब्रेनबैरियर पार गर्छ र सबकाटक्र्सेसलाई प्रभावित गर्छ । यसमा डिमेन्सियाको लक्षण देखिनुभन्दा ४,५ महीना पहिले देखि रोग शुरू भइसकेको हुन्छ । सिटी एमआरआईमा यहाँ ह्वाइट मैटरमा प्रभाव देखिन्छ ।
५. सुडोडिमेन्सिया ः यो झूटो डिमेन्सिया हो । सुडो मतलब झूट । त्यसो भए यसको के मतलब ? मतलब के भने यसमा रोगी झूटो बोल्छ कि उसलाई डिमेन्सियाजस्तो लक्षण छ । डिमेन्सिया रोगी केही भएको छ भन्दैन जबकि सुडोवाला जोड दिएर भन्छ कि उसको ब्रेनको कार्य सम्पादन कम भएको छ । असलमा रोगी केही प्राप्त कुरामा जोड दिन्छ जबकि सुडोले आफ्नो अयोग्यतामा जोड दिन्छ । असलमा लक्षण केही हुँदैन जबकि सुडोले आफू कष्टमा रहेको भन्छ । असली अस्थिर हुन्छ तर सुडोमा कडा डिप्रेसन देखिन्छ । यही डिप्रेसनले असली कुरा पकडमा आउँछ जो असलीमा प्रायः हुँदैन । जाँचहरूमा सवाल सोधिन्छ जसमा असलीले जबाफ दिंदा गलती गर्छ तर सुडोले हरेक कुरामा जान्दिनँ मात्र भन्छ । असलीमा रिसेन्ट मेमोरी अथवा ताजा याद गायब हुन्छ तर सुडोमा हुँदैन । सुडोलाई एन्टिडिप्रेसेन्ट दिइयो रोग निको हुन्छ तर असलीलाई निको हुने कुरै आउँदैन ।
डिमेन्सियाका स्टेजहरू ः डिमेन्सियाको ७ स्टेज हुन्छ ः पहिलोमा मान्छे नर्मल हुन्छ, दोस्रोमा रोगीमा केही व्यावहारिक कमी देखिन्छ, तेस्रोमा शुरूआती केही लक्षण देखिन्छ र परिस्थिति सम्हाल्न सक्ने देखिन्छ, चौथोमा रोगीमा मोडरेट कमी देखिन्छ र रोगीलाई सहयोगीको आवश्यकता पर्छ, पाँचौंमा मोडरेटली सिभियर कमी हुन्छ, छैठौंमा कडा रोग देखिन्छ र सातौंमा धेरै कडा रूप देखिन्छ ।
उपचार ः सर्वप्रथम आधारभूत ल्याब टेस्ट र इइजी, सिटी, एमआरआई तथा थायरायड गर्नैपर्छ । त्यसपछि यदि कारण लाइलाज ग्रुपको होइन भने त्यही अनुसार तुरून्त उपचार शुरू गर्नुपर्छ जस्तै बिपी छ भने एन्टिहाइपरटेन्सिभ,थायरायड रिप्लेसमेन्ट यदि थायरायडले छ भने । त्यसपछि लक्षण अनुसारको उपचार आउँछ जसरी रोगीलाई एक ठाउँबाट अर्को ठाउँमा लगी तनाव कम गर्ने, यदि मेडिकल कुनै जटिलता छ भने उसको इलाज, रोगीको भोजन र सफाइमा ध्यान दिने, यदि चिन्ता छ भने एन्टिएंग्जाइटी कम मात्रामा दिने, रोगी सुत्न नसकेको अवस्थामा बेन्जोडाइजिपीन कम मात्रामा, डिप्रेसन छ भने सरटेलिन, केही दिनको लागि अस्पतालमा भर्ना पनि आवश्यक हुन्छ किनभने बढी दिनको लागि अस्पताललाई कठिन हुन सक्छ । त्यस्तोमा पूरै डिमेन्सिया इन्स्ट्च्यिुशन नै हुन्छ जसमा लेट केसलाई राखिन्छ, त्यहाँ भर्ना गर्नुपर्छ । आजभोलि स्पेसिफिक औषधि आएका छन् त्यो दिनुपर्छ जसरी रिभास्टिग्मिन आदि ।
अस्तु !