• विश्वराज अधिकारी

व्यापार दर्शन

अमेरिकी व्यापार दर्शन अन्य देशका व्यापार दर्शनभन्दा निकै भिन्न छ । अन्य देशहरूमा उत्पादक वा बिक्रेता, आफूले बिक्री गर्ने वस्तु सेवाको मूल्य वृद्धि गरेर अल्पकालमैं धनी बन्ने उद्देश्य राखेको पाइन्छ भने अमेरिकमा उत्पादक वा बिक्रेताले आफूले उत्पादन गरेको वस्तु वा सेवाको मूल्य प्रतिस्पर्धीहरूभन्दा कम पारेर अर्थात् आफ्नो वस्तु एवं सेवाको मूल्य बजारमा सर्वाधिक कम पारेर दीर्घकालमा बढी मुनाफा हात पार्ने उद्देश्य राखेका हुन्छन् । आफूले बिक्री गर्ने वस्तुको मूल्य कम पार्दा कम आय भएका व्यक्तिले पनि सहजै खरीद गर्ने वातावरण सृजना हुन सक्ने र कम आय भएका व्यक्तिको सङ्ख्या बजारमा ठूलो हुने भएकोले मूल्य कम गर्दा ठूलो परिमाणमा बिक्री हुने उद्देश्य धेरै व्यापार गृहहरूले राखेका हुन्छन् । अमेरिका एवं संसारको नै सर्वाधिक ठूलो (शाखा सङ्ख्याको आधारमा) खुद्रा भण्डार ‘वाल मार्ट’ ले आफ्ना ग्राहकहरूलाई सर्वाधिक सस्तोमा वस्तु उपलब्ध गराउन प्रतिस्पर्धा नै गर्छ । अर्थात् वाल मार्टले मूल्य घटाउन वा कम गर्न बजारमा प्रतिस्पर्धा नै गर्छ । यो कारणले वाल मार्ट अमेरिकाभरि सस्तो सामान बिक्री गर्ने भण्डारको नामले चर्चित छ, प्रसिद्ध छ । डलर जेनरल, डलर ट्री, अल्डी, मारकेट बास्केट, विन्को, फूटफोरलेस, ट्रेडर जो’ज, लिडी, एमेजन, एच–इ–बी, साम्स क्लब, रस, कस्टको आदिजस्ता भण्डारहरूले सस्तोमा सामग्री बिक्री गर्ने उद्देश्य राखेको पाइन्छ ।

अमेरिकी व्यापार पद्धतिले ग्राहकलाई व्यापार पिरामिडको शीर्ष स्थानमा राख्ने गर्दछ । र यही अवधारणा अनुरूप ग्राहकलाई हरदम प्रसन्न राख्ने प्रयास गर्दछ । खरीद गरेको सामान ग्राहकलाई मन नपरेमा उक्त सामान सो ग्राहकबाट सजिलै फिर्ता लिएर त्यस सामानको मूल्य तत्काल ग्राहकलाई फिर्ता दिने, मेशिन प्रकृतिको समान छ भने उक्त सामान खरीदकर्ताको घरमा पुर्याएर जडान गरिदिने, तोकिएको समयभित्र खरीद गरिएको सामान बिग्रेमा उक्त सामान मरम्मत गरिदिने, उधारोमा सामान दिने, खरीद गरेको सामान घरसम्म पुर्याइदिने जस्ता काम गरेर बिक्रेता एवं उत्पादकहरूले ग्राहकलाई प्रतिपल खुश राख्ने प्रयास गर्दछन् ।

पसलभित्र सामान निश्शुल्क वितरण गर्ने, कुपन दिने, डिस्काउन्ट दिने, उपहार दिनेजस्ता अनेक कार्य गरेर पनि बिक्रेताहरूले ग्राहकहरूलाई सन्तुष्ट र प्रसन्न राख्ने प्रयास गरेका हुन्छन् ।

अमेरिकी व्यापार दर्शन वा अमेरिकी पूँजीवादले वस्तु वा सेवाको मूल्य सरकारले होइन, बजारमा हुने प्रतिस्पर्धाले तोक्नुपर्छ भनी विश्वास गर्छ । यसैगरी वस्तुको गुणस्तर राम्रो पार्न उत्पादकहरू बीच प्रतिस्पर्धा नै हुनुपर्छ भन्दछ । यी मान्यताहरूले कसरी कार्य गर्छन् ?

बजारमा ठूलो सङ्ख्यामा उत्पादक एवं बिक्रेताको उपस्थिति भएमा उनीहरू बीच आफूसँग भएको वस्तु वा सेवा बिक्री गर्न तीव्र प्रतिस्पर्धा हुन्छ । तीव्र प्रतिस्पर्धामा सफल हुन वा आफ्नो वस्तु वा सेवा बिक्री हुने अवस्था सृजना गर्न उनीहरूबीच वस्तु वा सेवाको मूल्य घटाउने प्रतिस्पर्धा हुन्छ र उनीहरूलाई यो तथ्य पनि राम्ररी थाहा हुन्छ कि ग्राहकले सस्तोमा वस्तु वा सेवा खरीद गर्न खोज्ने हुनाले आफ्नो वस्तु वा सेवा सस्तो हुनु नै सजिलै बिक्री हुने आधार हो । यस्तै अवस्था सेवा एवं वस्तुको बिक्रीमा पनि देखिन्छ । स्तरीय वा गुणस्तरीय वस्तु वा सेवा ग्राहकको प्राथमिकतामा पर्ने हुनाले उत्पादक एवं बिक्रेताबीच स्तरीय वस्तु बजारमा ल्याउन तीव्र प्रतिस्पर्ध हुन्छ । उत्पादक एवं बिक्रेता बीच स्तरीय एवं गुणस्तरीय वस्तु एवं सेवा बिक्री गर्न हुने प्रतिस्पर्धाले ग्राहकलाई स्तरीय एवं गुणस्तरीय वस्तु एवं सेवा प्राप्त हुने अवस्था सृजना हुन्छ ।

अमेरिकी व्यापार दर्शनले व्यापार– प्रतिस्पर्धालाई अत्यधिक महत्व दिन्छ । प्रतिस्पर्धाले नै व्यापारलाई  सोझो (खुट्टा तल र टाउको माथि) उभ्याउन सक्छ भनी विश्वास गर्दछ । अमेरिकी पूँजीवादले प्रतिस्पर्धालाई व्यापारको मुटु मान्दछ र व्यापार सरकारद्वारा होइन, बजारद्वारा नियन्त्रित हुनुपर्दछ भन्ने कुराको वकालत गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here