- बैधनाथ श्रमजीवी
हिन्दी भाषामा निकै प्रचलित एउटा उखान छ –डुबतेको तिनके का सहारा । जबकि यो संसारमा डुब्न लागेको कुनैपनि व्यक्तिले आफैं बगिरहेको परालको सहाराले बाँचेको रेकर्ड छैन । तर पनि के चाहिं सत्य हो भने डुब्न लागेको प्रत्येक व्यक्ति अन्तिम सास रहेसम्म अरू केही नभए पनि परालको मात्रै सहारा भेटे बाँच्न सहायक हुन्थ्योजस्तो सोच्छ । यस्तो सोच हुनुको एकमात्र कारण जीवन प्रतिको मोह हो । कोही पनि मर्न चाहँदैन । यद्यपि सबैलाई थाहा छ एक दिन मर्नैपर्छ ।
ठीक त्यसैगरी यति बेला नेपालको राजनीतिक क्षितिजमा दलाल पूँजीवादी संसदीय व्यवस्था फेल हुन लागेको देखेर यस व्यवस्थाका दलालहरू आफ्नो भविष्य अँध्यारो देखेपछि व्यवस्था जोगाउन अनेक षड्यन्त्र गर्न थालेका छन् । खासगरी इतिहासमा एउटा अब्बल क्रान्तिकारी पात्रको रूपमा अभिनय गरिसकेका तर वर्तमान समयमा प्रतिक्रान्तिकारीमा रूपान्तरण भई घोर अवसरवादी, दक्षिणपन्थी, महाभ्रष्टाचारी, पूँजीवादी व्यवस्थाका दलालहरू निर्वाचनमा आफ्नो उपस्थिति निरन्तर कमजोर देखेर कहिले पार्टी एकीकरण गर्ने, कहिले भएको पार्टी फुटाउने, कहिले समाजवादी मोर्चा घोषणा गर्नेजस्ता षड्यन्त्रका अनेकौं तुनाबुना बुन्दै आएको देखिन्छ ।
हो, यतिबेला देखिएको तथाकथित चार कम्युनिस्ट पार्टी मिलेर गठन भएको ‘समाजवादी मोर्चा’ पनि दलाल पूँजीवादी व्यवस्थाको भ्रष्ट राजनीतिलाई यथास्थितिमा राख्दै सधैंभरि सत्तामा टिक्न सकिन्छ भन्ने मृगतृष्णा मात्रै हो ।
विगतमा रौतहटको गौर–हत्याकाण्ड कसैले बिर्सेको छैन । ६० भन्दा बढी नेकपा माओवादीका निहत्था कार्यकर्तालाई घेरेर पाशविक ढङ्गले हत्या गर्ने तत्कालीन उपेन्द्र यादव अध्यक्ष रहेको मधेसी मोर्चा यति बेला समाजवादी पार्टीको ओरालो लागेको हरुवा सङ्गठन भएको छ । कुनै बेला प्रचण्ड, संसदीय भासमा भाँसिदा महापतन भयो भनेर तीव्र आलोचना गर्ने तथा एकीकृत जनक्रान्ति गरेर वैज्ञानिक समाजवाद ल्याउने भन्दै एक दशकभन्दा बढी सशस्त्र सडक सङ्घर्ष सञ्चालन गर्ने नेकपा क्रान्तिकारी विप्लव नेतृत्वको पार्टी यति बेला तिनै प्रचण्डसँग मोर्चा बनाएर यही व्यवस्थाबाट समाजवाद ल्याउने सपना पस्कन थालेका छन् । अरूको लहलहैमा लागेर छँदाखाँदाको नेकपा पार्टी फुटाएर अस्तित्व जोगाउन समेत धौधौ पर्ने नेकपा एकीकृत समाजवादी निर्माण गर्ने माधवकुमार नेपालसमेतको सहभागितामा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पहलमा निर्माण भएको समाजवादी मोर्चा कम्युनिस्ट मोर्चा त हुँदै होइन, विपी कोइरालाले भन्ने गरेको पूँजीवादी समाजवाद निर्माण गर्ने मोर्चासमेत होइन । यसको नामाकरण समाजवादी गरिए तापनि वास्तवमा यो केवल देशको ढुकुटी लुट्न सत्तामा उक्लिन प्रयोग हुने भ¥याङ मात्रै हो भन्दा वस्तुगत सत्य हुनेछ ।
यतिबेला ‘समाजवाद’ नेपाली राजनीतिमा मुख्य विषय भएर आएको छ । वर्तमान संविधानमा ‘समाजवाद उन्मुख’ उल्लेख गरिएको पाइन्छ । नेपाली काङ्ग्रेसदेखि राप्रपा, रास्वपा, नेकपा एमाले, नेकपा माओवादी, नेकपा समाजवादीलगायत संसदीय तथा गैरसंसदीय पार्टीहरूले समाजवादलाई विकास र समृद्धिको वैकल्पिक राजनीतिक व्यवस्थाको रूपमा अगाडि सारेको देखिन्छ । यस्तो अवस्थामा समाजवाद भनेको के हो र यो कसरी आउँछ भन्नेबारे थोरै चर्चा गरौं ।
राजनीतिमा जसरी पूँजीवादको परिभाषा ठोसरूपमा गरिएको छ, त्यसैगरी समाजवादको सर्वमान्य परिभाषा छैन । जहाँ माक्र्सवादी दर्शनले समाजवाद बारे एक प्रकारको परिभाषा अगाडि सारेको छ भने दक्षिणपन्थी दर्शनले अर्कै परिभाषा दिन्छ । आजसम्म माक्र्सवादी सिद्धान्त अनुसारको कम्युनिस्ट र गैर माक्र्सवादी बुर्जुवा प्रजातान्त्रिक समाजवादीहरू आआफ्नै खाले समाजवादलाई ‘वास्तविक समाजवाद’ हो – भन्दै आएका छन् । कुनै समाज वा देश साँच्चैको समाजवादी हो कि होइन भनेर नाप्ने कुनै सर्वस्वीकार्य मापदण्ड छैन । साम्यवादी खेमामा भएको विभाजनका कारण उहिल्यैदेखि समाजवादका विषयमा अन्योल बढेको थियो । चीनले बजारको शक्ति देख्न र अवलम्बन गर्न थालेपछि समाजवाद बुझ्ने विषयमा खासगरी परम्परागत समाजवादीबीच अन्योल झनै बढेको छ । यतिबेला अधिकतर चिनियाँ (सबै होइन) सम्भवतः इतिहासमैं बढी सन्तुष्ट र खुशी देखिन्छन्, आशावादी देखिन्छन् । पश्चिमा पूँजीवादी मुलुकलगायत संसारभरका समाजवादद्वेषी शक्ति भने चीनको अप्रत्याशित समृद्धि देखेर आत्तिन थालेका छन् । चीनको विकासका कारण उनीहरूकै कतिपय परम्परागत मान्यता र प्रस्थापनाले पनि चुनौती बेहोर्नुपर्ने स्थिति आएको छ । तर के पनि भएको छ भने समाजवाद बुझ्ने कुरामा भने अन्योल बढेको छ ।
यति बेला विगतमा समाजवादी भनिएका कतिपय देश बजारभक्त नवपूँजीवादीमा परिणत भएका छन् भने केही पूर्णतया अपारदर्शी एकदलीय तानाशाहीमा परिणत भएका छन् । समाजवादी विचार–प्रणालीको अविभाज्य अङ्ग बनेको अन्तर्राष्ट्रवादलाई ठाउँठाउँमा अन्धराष्ट्रवादले विस्थापन गरेको छ । अनि संसारभरि छरिएर रहेका र आफूलाई समाजवादको सच्चा अनुयायी ठान्ने विभिन्न पार्टी, संस्था, समूह, विद्वान् र अभियन्ता भने राज्यसत्ताको घेराबाट झन्झन् पर धकेलिंदै गएका देखिन्छन् । तीमध्येकै कतिपयको धारणा हेर्दा ती पनि परम्परागत माक्र्सवादको मूल मर्मबाट टाढिंदै लघुराष्ट्रवाद वा पहिचानको राजनीतितर्फ बढी आकर्षित हुन थालेका देखिन्छन् । एउटा तीतो सत्य के पनि हो भने यति बेला संसारमा कुनै पनि देश समाजवादी छैन । तर विडम्बना १ संसारभरिका सबै दक्षिणपन्थी दर्शनले समेत यति बेला समाजवादको वकालत गर्ने गरेको पाइन्छ । संसारको यस्तो विशिष्ट परिस्थितिमा नेपालमा कम्युनिस्ट पार्टी मात्र होइन, नेपाली काङ्ग्रेसजस्तो दक्षिणपन्थी पार्टी पनि आफूलाई विपीको समाजवादी भन्दै आएको छ । अन्य साना पार्टीमध्ये कसैकसैको त नाम नै समाजवाद छ भने अरू धेरैजसोका घोषणापत्रमा समाजवादको कुनै न कुनै ‘तत्व’ देखा पर्छ ।
तर संविधानले नै समाजवादोन्मुख भनेको यो लोकतान्त्रिक सङ्घीय गणतन्त्रमा शिक्षा र स्वास्थ्य कस्तो हुनुपर्छ ? बजारको शक्तिलाई कसरी कुन ठाउँमा राख्ने ? समृद्धिलाई सामाजिक न्यायसँग जोडेरै हेर्ने हो भने ‘नवउदार’ भनिने गरेका छाडा बजारकै गुणगान गरिरहने छुट हामीलाई होला कि नहोला ? लोकतान्त्रिक अधिकार र पूँजीवादलाई छुट्याउनै नसक्ने प्रवृत्ति हाम्रा लागि यो कालखण्डमा उपयुक्त हो कि होइन ?
आजको विश्वमा समाजवादको निर्विवाद परिभाषा नहुनु, विभिन्न ऐतिहासिक घटनाक्रमको विशिष्ट योगले तथाकथित ‘कम्युनिस्ट’हरू सत्तासीन हुनु, छाडा बजारको शक्ति भने झन्झन् बढ्दै जानु, सत्तासीन ‘कम्युनिस्ट’हरूसमेत बजारको शक्तिको त्यो झिलीमिलीमा हराउनुजस्ता कारणले यस प्रश्नको उत्तर खोजेजस्तो सजिलो पक्कै छैन । तर जतिसुकै अप्ठ्यारो भए पनि यस प्रश्नमा आफूलाई समाजवादी ठान्ने हरेक व्यक्ति, राजनीतिक दल, संस्था, अभियन्ता आदिले एकपटक घोत्लिन जरूरी छ । आफूलाई समाजवादी नभन्ने, तर मानव जाति र पृथ्वीको भविष्यबारे साँच्चै चिन्ता लिने सबै सरोकारवालाले पनि त्यत्तिकै गम्भीरतापूर्वक यस प्रश्नमा घोत्लिन आवश्यक छ ।
मान्छेका कारण र खासगरी उसले केही शताब्दीदेखि अवलम्बन गरेको पूँजीवादका कारण पृथ्वी नामको सुन्दर ग्रह र यसमा रहेका असङ्ख्य प्राणी कति ठूलो खतरामा परेका छन् भन्ने चिन्ता यति बेला परम्परागत साम्यवादी वा समाजवादीभन्दा बढी प्राज्ञिक अध्येता र स्वतन्त्र अभियन्ताबाट प्रकट भइरहेको सर्वविदितै छ ।
तर राज्यलगायत सम्पूर्ण पक्ष यस विषयमा जति गहिराइमा पस्नुपर्ने हो, त्यति पस्न नसकेको देखिन्छ । यति बेला छाडा बजारको निर्लज्ज नाचमा रमाउने अवस्था भत्काउन जरूरी छ । देश मात्र होइन, पृथ्वी नै यति गम्भीर मोडमा पुगेका बेला समाजवादबारे छलफल अझै गहिराइमा नपुगेसम्म सही अर्थमा समाजवादी व्यवस्था कसरी लागू हुन्छ ? आखिर समाजवाद भनेको के हो त ?
कुनै बेला विपी कोइराला भन्ने गर्थे– “सम्यवादमा लोकतन्त्र थपिदिए समाजवाद हुन्छ र समाजवादमा लोकतन्त्र झिकिदिए साम्यवाद हुन्छ ।” यस अर्थमा हेर्दा विपीले भनेको समाजवाद लोकतान्त्रिक समाजवाद हो । जुन समाजवादमा स्वतन्त्रता र समानतालाई अविभाज्य मान्दै लोकतन्त्रको अनिवार्यता व्यक्त गरेको देखिन्छ । समाजवादको विपी मोडलमा लोकतन्त्रलाई अनिवार्य शर्तको रूपमा राखिएकोले नै यसलाई लोकतान्त्रिक समाजवाद भनिएको हो ।
मालेमाको सिद्धान्त अनुसार– समाजवाद यस्तो आर्थिक व्यवस्था हो जहाँ पूँजी उत्पादनका साधन (जमीन, कलकारखाना, व्यापार आदि) सरकारको स्वामित्वमा रहन्छ या सामाजिक स्वामित्वमा, जहाँ पूर्णतया निजी पूँजी हुँदैन तर सामाजिक पूँजी हुन सक्छ । यदि कुनै स्कूल, होटल, उद्योग सामूहिक रूपमा या कुनै सहकारीले खोलेको छ भने त्यो सम्पत्ति न पूर्णतया निजी हो, न पूर्णतया सरकारी हो, त्यो सामूहिक पूँजी हो । निजी पूँजीबाट सामूहिक पूँजीमा रूपान्तरण गर्दै अन्तमा राष्ट्रिय पूँजी बनाएर साम्यवाद प्राप्त गर्ने हुनाले नै समाजवादलाई साम्यवादको बाटो भनिएको हो । किनकि साम्यवाद भनेकै निजी सम्पत्तिको उन्मूलन हो ।
सरल अर्थमा भन्दा–उत्पादनको साधनमाथि सामूहिक अधिकार स्थापित गर्ने र त्यसको न्यायोचित वितरण गर्ने प्रणाली समाजवाद हो । कम्युनिस्ट समाजवाद बल प्रयोगको सिद्धान्त, सर्वहारा क्रान्ति, सर्वहारा राज्यको स्थापना, निजी सम्पत्तिको अन्त्य र उत्पादनका साधनको राष्ट्रियकरणबाट आउँछ । कार्लमाक्सले पटकपटक भनेका छन्–साम्यवाद भनेको अन्तिम निष्कर्षमा निजी सम्पत्तिको उन्मूलन हो । कम्युनिस्टहरूको आदर्श नै समाजवाद हो । जुन समाजवाद बल प्रयोग र सर्वहाराको अधिनायकत्वबाट आउँछ । माक्र्सको समय १९औं शताब्दीदेखि २१ औं शताब्दीसम्म आइपुग्दा अर्थात् २०० वर्षको समाजवादी यात्राको अनुभवले निजी सम्पत्ति राज्यको अधीनमा भन्ने अवधारणा फेल खाएको देखिन्छ । यसर्थ अब निजी सम्पत्ति उन्मूलन गलेश्वर समुदायको अधीनमा राख्नुपर्ने, नेता, कार्यकर्ता तथा सिङ्गो कम्युनिस्ट पार्टी आत्मनिर्भर बन्नको लागि समाजवादी सामूहिक सामुदायिक उत्पादनमा लाग्नुपर्ने तथा सामुदायिक उत्पादन र समाजवादी बजार व्यवस्थापनबाट पूँजीवादी बजार र व्यवस्था समाप्त गरेर आजैदेखि समाजवादमा जानुपर्ने देखिन्छ । यति बेला समाजवाद र वैज्ञानिक समाजवादबीच भिन्नता बुझेर असली–नकली समाजवादी छुट्याउनुपर्ने हुन्छ ।