प्रस, परवानीपुर, ३ असार/
अल्पाइन हस्पिटल सिमराको आयोजनामा शनिवार निश्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
अस्पताल परिसरमा आयोजित शिविरमा सयौं बिरामीको सहभागिता थियो। शिविरमा ओपिडी र मधुमेह रोग निश्शुल्क जाँच भएको थियो भने अन्य जाँच एवं महँगा औषधीमा १० प्रतिशत छुट दिइएको थियो।
कोभिड महामारीपछि पर्सा–बाराका ग्रामीण भेगको जनतासँग चिकित्सकलाई तिर्ने रकमसमेत अभाव भएर केही बिरामीले उपचार नपाएको गुनासो आएपछि अस्पतालले यस्तो शिविर आयोजना गरी सामाजिक कार्य गर्न खोजेको जनाएको छ। हार्ट फाउन्डेशन बारा र लायन्स क्लब अफ वीरगंजको सहयोगमा आयोजना भएको शिविरमा वीरगंज, सिमरा, हेटौंडा, काठमाडौंका गरी करीब १७ जना विशेषज्ञ डाक्टरले बिरामीहरूको स्वास्थ्य परिक्षण गरेको अस्पतालका चिकित्सक प्रकाश साहले बताए।
शिविरमा फिजिसियन, सर्जन, हाडजोर्नी, स्त्रीरोग, मुटुरोग, बाथरोग, मानसिक रोगलगायतका विशेषज्ञहरूको सहभागिता रहेको अस्पताल सञ्चालक शिव शर्माले बताए। ६ वर्ष पहिले स्थापना भएको अस्पतालले एक महीनासम्म निश्शुल्क शिविरकै नियममा ओपिडी सेवा दिइने जनाइएको छ। शिविरमा पर्सा, बाराका दर्जनौं गाउँँबाट बिरामीहरू आएका थिए।