प्रस, सप्तरी, ३ असार/
राजविराजमा सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको पाँचौं संस्करण आइतवारदेखि शुरू भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा रूपनी राइडर्सले राजविराज दी किङ्सलाई १५ रनले हराएको छ। रूपनी राइडर्सले दिएको १५१ रनको लक्ष्य पछ्याउँदै राजविराज दी किङ्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो।
राजविराज दी किङ्सका लागि विक्रम सोबले सर्वाधिक ३४ रन, तृतराज दासले ३३ र अभिषेक कार्कीले २९ रन जोडे। रूपनीका बलर फिर्दाेश अन्सारीले सर्वाधिक तीन विकेट लिए। उनले चार ओभर बलिङ गर्दै १९ रन खर्चेका थिए। धीरज मण्डलले दुर्ई तथा जीतेन्द्र मुखिया, अशोक मेहता र दीपेश कँडेलले एक/एक विकेट हात पारे।
टस हारेर ब्याटिङ गरेको रूपनीले २० ओभरमा छ विकेट गुमाएर १५० रन बनाएको थियो। रूपनीका लागि प्लेयर अफ दी म्याच घोषित फिर्दाेश अन्सारीले सर्वाधिक ६१ रनको योगदान दिएका थिए। उनले ४९ बलको सामना गरी दुर्ई छक्का र छ चौका पनि हिर्काए। रोहन विकले ३३ र विकास दासले २० रन थपेका थिए। ३१ रनको कुल स्कोरमा तीन विकेट गुमाएको अवस्थामा फिर्दाेश र रोहनले चौथो विकेटका लागि ६५ रनको साझेदारी गर्दै रूपनीको पाली सम्हालेका थिए। राजविराजका बलर विक्रम सोबले दुर्ई विकेट लिए। दीपेश सरदार, तृतराज दास र सोहेल खानले पनि एक/एक विकेट हात पारेका थिए।
सप्तरी जिल्ला क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगिता अन्तर्गत भोलि सोमवार दुर्ईवटा खेल हुनेछन्। पहिलो खेलमा रूपनी राइडर्सले बलान बिहुल सुपर किङ्सको सामना गर्नेछ। छिन्नमस्ता लाइन्स र बजाज खडक वारियर्सबीच दोस्रो खेल हुनेछ।