नोभा काखोभका, ३ असार/एएनआई
एक वर्षभन्दा बढी समयदेखि युद्धरत युक्रेनको नोभा काखोभका बाँध भत्कँदा बाढीमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता छन्।
युक्रेनको आन्तरिक मामिला मन्त्रालयले शनिवार जनाए अनुसार दक्षिणी युक्रेनको बाँध जून ६ का दिन भत्किएको र गाउँँहरू ध्वस्त भएका थिए। बाँध भत्केर खेतबारीमा बाढी आउँदा हजारौं मानिसलाई बिजुली र खानेपानी आपूर्तिमा समस्या भएको थियो।
कीभका अनुसार रूसले योजनाबद्ध ढङ्गले बाँधमा आक्रमण गरेको थियो। रूसले क्रिमियालाई पानीबाट वञ्चित गराई युद्धको मैदानबाट विचलित गराउन भौतिक संरचनामा आक्रमण गरेको युक्रेनले आरोप लगाएको छ।
युक्रेनको आन्तरिक मन्त्रालयले दिएको जानकारी अनुसार बाढी प्रभावित क्षेत्रबाट ३,६१४ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
यसैगरी खेरसन र माइकोलाइभ क्षेत्रका एक हजार तीन सय घर बाढीले डुबानमा परेका छन्।
रूसले सन् २०२२ को फेब्रअरीमा युक्रेनमा आक्रमण गरेदेखि बाँध वरपरको क्षेत्र सबैभन्दा ठूलो विवादित क्षेत्रमध्ये एक बनेको छ। रासस