गुवाहाटी, १ असार/सिन्ह्वा

आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडिएमए)ले बिहीवार आसामको अवस्था अझै भयावह रहेको र छ जिल्लाका करीब २९ हजार मानिस बाढीबाट प्रभावित भएका जनाएको छ।

एएसडिएमएले आसाम र अरुणाचल प्रदेशमा लगातारको वर्षाका कारण धेरै नदीमा पानीको स्तर बढ्दै गएको र लखीमपुर, धेमाजी, डिबु्रगढ, कछार, नलवारी र कामरूप (मेट्रो) जिल्लाका १० प्रशासन केन्द्र अन्तर्गत २५ गाउँँ र अन्य क्षेत्रमा बाढीको पानी पसेको जनाएको छ।

एएसडिएमएको बाढी प्रतिवेदन अनुसार बाढी प्रभावित जिल्लामा २१५.५७ हेक्टर खेतीयोग्य जमीन डुबानमा परेको छ। लखीमपुर जिल्लामा मात्रै एक हजार २१५ बालबालिकासहित २३ हजार ५१६ जना प्रभावित भएका छन्।

एएसडिएमएका अनुसार बाढी प्रभावित लखीमपुर जिल्ला प्रशासनले तीनवटा राहत वितरण केन्द्र स्थापना गरेको छ र बाढी प्रभावितको उद्धारका लागि उद्धार टोली परिचालन गरेको छ।

बाढीका कारण कुखुरासहित छ हजार ३०७ पशुचौपायासमेत प्रभावित भएका छन्। बिहीवार आएको बाढीले ढेमाई, विश्वनाथ, गोलपाडा र लखीमपुर जिल्लाका चारवटा तटबन्ध र चारवटा सडकमा क्षति पु–याएको छ।

एएसडिएमएका अनुसार विगत केही दिनयता परेको वर्षाका कारण कछार र कामरूप (मेट्रो) जिल्लामा पनि केही पहिरोका घटना भएका छन्। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here