प्रस, वीरगंज, ३१ जेठ/

विश्व रक्तदाता दिवस वीरगंजमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। प्रत्येक वर्ष जून १४ अर्थात् असार ३१ गते विश्व रक्तदाता दिवस मनाइने गरिन्छ। दिवसको अवसरमा ब्लड डोनर्स एशोसिएशन, पर्साले सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

राणीसती अतिथि सदनमा आयोजित सम्मान कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख राजेशमान सिंहले रक्तदान गरेर अरूको जीवन बचाउन सकिने तर रक्तदान नगर्दा शरीरको रगत त्यत्तिकै खेर जाने बताए। उनले ९० दिनको अवधिमा सामान्य मानिसले रक्तदान गर्न सक्ने र यो रगत शरीरमा त्यत्तिकै रक्तदान नगर्दा पनि खेर जाने हुँदा रक्तदान गर्नुपर्ने बताए।

रक्तदान गर्नेहरूको स्वास्थ्य अवस्था सुदृढ हुने र आफूले पनि रक्तदान गर्दै आएको बताए। उनले स्वस्थ अवस्थाका १८ वर्षमाथि र ६० वर्षमुनिका सबैलाई रक्तदान गर्न आग्रह गरे। घरपरिवारका सदस्यहरू बिरामी पर्दा पनि रगत नदिनेहरू हाम्रै समाजमा भएको भन्दै उनीहरूलाई पनि रक्तदान गर्न उत्प्रेरित गर्नुपर्ने सुझाव दिए। उत्प्रेरणा कार्यक्रमको लागि महानगरले सहकार्य गर्ने उनले बताए।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र, छपकैयाका अध्यक्ष ग्यासुद्दीन ठकुराई, रेडियो वीरगंजका अध्यक्ष्F धु्रव साह, नेगेटिभ रक्त समूहका निशान्त लामिछाने, मानवसेवा आश्रमका दिवेश मानवसेवालगायतले मन्तव्य व्यक्त गरेका थिए।

ब्लोदान, पर्साका अध्यक्ष शत्रुघ्न नेपालको अध्यक्ष्Fतामा भएको कार्यक्रममा २०७९ वैशाखदेखि चैतसम्म सय पिन्ट रक्तदान गर्ने २३ वटा संस्था, सोही अवधिमा दुईपटक वा सोभन्दा बढी रक्तदान गर्ने सङ्घसंस्था, आकस्मिक रक्तदान गर्ने २९ जना रक्तदाता, २३ जना दुर्लभ रक्तदाता, प्रत्येक तीन/तीन महीनामा रक्तदान गर्ने पाँचजना स्वयंसेवी रक्तदाता र रक्तदान कार्यक्रममा जूस सहयोग गर्ने डाबर नेपाल, आर्थिक तथा भौतिक सहयोग गर्ने सञ्जु साह, रामबाबू सिंहलगायतलाई सम्मान गरिएको थियो। कार्यक्रममा ब्लोदानका सदस्य शिवजी गुप्ताले स्वागत र सचिव अरविन्द सिंहले सहजीकरण गरेका थिए।

यसैबीच, नेपाल रेडक्रस सोसाइटी, पर्साले उपशाखाहरूको सहकार्यमा बहुदरमाई नगरपालिकाका  दुई स्थानमा विश्व रक्तदाता दिवसको अवसरमा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ। नेरेसो, भौराटारका अध्यक्ष काशी साह र गम्हरिया शाखाका अध्यक्ष मौलाद्दीन मियाँको अध्यक्षतामा भएको उत्प्रेरणा कार्यक्रममा नेरेसो पर्साका सभापति वीरेन्द्रराज कँडेल, रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डे र नेरेसो उपशाखा रेशमकोठीका लालबाबू सिंहले रक्तदानसम्बन्धी सहभागीहरूलाई तालीममार्फत सचेत गराएका थिए।

तीनवटा संस्थाद्वारा रक्तदान

विश्व रक्तदाता दिवसको उपलक्ष्यमा पर्सा र बारामा तीनवटा संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेका छन्।

नेरेसो पर्सा शाखाले रक्तसञ्चार केन्द्र वीरगंजमा आयोजना गरेको रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेको केन्द्रका प्राविधिक प्रमुख पाण्डेले बताए।

यसैगरी, नारायणी वयोधा मेडिसिटी अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा सातजना महिलासहित ४१ जनाले रक्तदान गरेका प्राविधिक धीरेन्द्र झाले बताए।

यसैगरी, बाराको छातापिपरामा सौरभ फूड कन्सर्नले आयोजना गरेको रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here