नानजिङ, चीन, २९ जेठ/सिन्ह्वा
पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङबाट बङ्गलादेशको राजधानी ढाकाका लागि १७.६ टन टेक्सटाइल सामग्री बोकेको कार्गो विमान उडेको नानजिङ भन्सारले पुष्टि गरेको छ ।
“पूर्वी चिनियाँ शहर नानजिङले पहिलोपटक दक्षिण एशियालाई जोड्ने हवाई कार्गो सेवा शुरू गरेको छ”–चिनियाँ भन्सार कार्यालयले जानकारी गराएको छ ।
यो मार्ग प्रत्येक बुधवार, बिहीवार र शुक्रवार नियमित सञ्चालन हुने तालिकामा छ भने यसबाट वार्षिक २,८०० टनभन्दा बढी मालसामान ढुवानी हुने अपेक्षा गरिएको छ ।
“नानजिङ वरपरका क्षेत्रहरूमा पूर्ण आपूर्ति शृङ्खलाका साथ ठूलो मात्रामा टेक्सटाइल उद्योग छ । यहाँ उत्पादित कपडाहरू अन्तर्राष्ट्रिय ग्राहकबीच लोकप्रिय छन् र नयाँ खोलिएको हवाई कार्गो मार्गले स्थानीय उद्यमीहरूलाई उनीहरूको वस्तु निर्यात गर्न पहुँच प्रदान गर्दछ”–चिनियाँ अन्तर्राष्ट्रिय रसद कम्पनीका कर्मचारी बी हेन्फेनले जानकारी दिए । रासस