प्रस, परवानीपुर, २८ जेठ/

बारा, परवानीपुर गाउँपालिका–५ मा श्री नेराआवि बहुअरीको नयाँ भवन निर्माणको लागि काम शुरू भएको छ ।

विद्यालयको पुरानो जग्गाहरू निकालेर भवन निर्माणको काम शुरू भएको हो । चालू आवमा गापाको ४५ लाख लागतमा चार कोठे विद्यालय भवन शिलान्यास गरिएको छ । शुक्रवार गापा अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मी एवं बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले संयुक्तरूपमा विद्यालय भवनको शिलान्यास गरेको वडाध्यक्ष रामेश्वर कलवारले जानकारी गराए ।

कार्यक्रममा गापा उपाध्यक्ष सुगान्धीदेवी कनुइन एवं बहुअरीका विभिन्न राजनीतिक दलका अगुवा एवं भद्रभलाद्मीहरू हर्षित मुद्रामा देखिए । कारण थियो – विद्यालय भवन निर्माणको बाटो खुल्नु र विद्यालय भवन निर्माण कार्य शुरू हुनु । यस अघि गाउँमा विवाद भएपछि चार कोठे भवनको काम ठप्प भएको थियो । एक वर्ष अगाडि जीर्ण भइसकेको पुरानो विद्यालय भवन भत्काएर उपभोक्ता समितिमार्फत विद्यालय भवन निर्माण गर्न खोज्दा राजनीतिक दलहरूबीच जग्गाको स्वामित्वको विषयमा विवाद सिर्जना भएको थियो ।

गाउँलेले विद्यालयको चार किल्ला छुट्याएर त्यसपछि टेन्डरमार्फत भवन निर्माणको कार्य हुनुपर्ने अडान लिएका थिए । गापाको बजेटबाट चालू आवमा भवनको शिलान्यास भएको र पटेल कन्स्ट्रक्शन फेटा गापा–१ बाराले काम गर्नुपर्ने सम्झौता भएको छ ।

भवन निर्माणको काम छ महीनाभित्र सम्पन्न गराउने लक्ष्य राखिएको छ । २०२१ सालमा स्थापना भएको सो विद्यालयमा अहिले भौतिक पूर्वाधार र अन्य सुविधा नहुँदा जम्मा ८६ जना बालबालिका अध्ययनरत छन् भने सातजना शिक्षक रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here