प्रस, वीरगंज, २७ जेठ/
वीरगंज महानगरपालिकाले नगर क्षेत्रमा रहेका वास्तविक कृषकको पहिचानका लागि अभियान चलाउने भएको छ । वास्तविक कृषकको पहिचान नहुँदा सेवा प्रवाह गर्न कठिनाई हुनुका साथै कृषकका नाममा गैरकृषकले फाइदा लिइरहेको भेटिएकोले नियन्त्रण गर्न महानगरले अभियान चलाउन लागेको जनाएको छ ।
नगर प्रमुख राजेशमान सिंहले कृषकलाई विभिन्न सीप सिकाउँदै आत्मनिर्भर बनाउन र प्रोत्साहनस्वरूप अनुदान दिन कृषक पहिचान आवश्यक भएकोले अभियान चलाउन लागेको बताए ।
उनले पहिलो चरणमा महानगरको वडा नम्बर १६, १७, २७, ३० र ३२ गरी ५ वडामा वास्तविक कृषकको तथ्याङ्क सङ्कलन गर्ने तयारी गरेको बताए ।
यी वडामा सबैभन्दा बढी कृषियोग्य जमीन हुनुका साथै कृषिमा आत्मनिर्भर हुनेको सङ्ख्या पनि बढी रहेकोले पहिलो चरणमा ५ वडाबाट वास्तविक कृषक पहिचान गर्न टोली खटाउने तयारी गरिएको महानगरको कृषि विकास अधिकृत रोशनी यादवले बताइन् । कृषक पहिचानको लगत आएपछि कृषकलाई प्रोत्साहनस्वरूप प्रदान गर्ने अनुदान रकम गैरकृषकले लैजाने प्रचलन पूर्णरूपमा नियन्त्रणमा आउने र वास्तविक कृषकलाई फाइदा पुग्ने अधिकृत यादवले बताइन् ।
वास्तविक कृषक पहिचानका लागि महानगरले स्वयंसेवक भर्ना गरेर प्रशिक्षणसमेत दिइसकेको छ ।
शनिवार कृषि ज्ञान केन्द्र बाराका प्रमुख रामजीवन ठाकुरले स्वयंसेवकहरूलाई कृषक गणनाका लागि आवश्यक सूचक तथा विधिबारे प्रशिक्षण दिएका थिए । प्रशिक्षित स्वयंसेवकहरूले सम्बन्धित कृषकको घरमा पुगेर मोबाइल एप्लिकेशनबाट डिजिटल तथ्याङ्क प्रविष्ट गर्नुपर्नेछ ।
महानगरले भोलिदेखि सम्बन्धित वडाहरूमा तथ्याङ्क सङ्कलनका लागि स्वयंसेवक खटाउने जानकारी गराएको छ ।