प्रस, वीरगंज, २७ जेठ/

नेपाल खानेपानी संस्थानले वीरगंजमा निर्माण हुन लागेको साढे चार लाख लिटर क्षमताको पानी ट्याङ्की (डीप बोरिङ) को शनिवार शिलान्यास भएको छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक सांसद प्रदीप यादव र वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले संयुक्त रूपमा खानेपानी पानी ट्याङ्कीको शिलान्यास गरेका थिए ।

वीरगंज महानगरपालिका–१६ नगवामा निर्माण हुन लागेको पानी ट्याङ्कीले वडा नम्बर १५ र १६ का करीब ४५ हजार घरधुरी लाभान्वित हुने बताइएको छ ।

कार्यक्रममा सांसद यादवले पानी ट्याङ्की निर्माणले वडावासीले भोगिरहेको खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय जलवायु परिवर्तन र बढ्दै गएको तापक्रमका कारण जमीनमुनिको पानीको तह घट्दै जाँदा चापाकलमा समेत पानी आउन छोडेपछि वर्तमान मागलाई सम्बोधन गर्न पानी ट्याङ्की निर्माण गर्न लागिएको बताए ।

नगरप्रमुख सिंहले तराई–मधेस क्षेत्रमा देखिएको पानीको समस्या गम्भीर भएको बताए । पानी उपयोगमा सचेत हुनुपर्ने सुझाव दिदंै उनले अनावश्यक पानी खर्च गर्ने बानी गलत भएको बताए । पानीको महत्व नबुझे एक दिन हाहाहारको अवस्था आउन सक्ने भन्दै उनले आवश्यकताभन्दा बढी पानी खर्च गर्ने बानी त्याग्न सुझाव दिए ।

सङ्घ सरकारको बजेटबाट नेपाल खानेपानी संस्थानले निर्माण गर्न लागेको वीरगंज जलापूर्ति परियोजनाको कुल लागत ५३ करोड ३२ लाख २४ हजार २२० रुपियाँ ५८ पैसा रहेको छ । परियोजना दुई वर्षमा सम्पन्न हुने लक्ष्य लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here