• जगदीशप्रसाद शर्मा

रामानन्द अगाडि बसेका र यात्राको अगुवा बनाइएकाले नहरछेउ कुनै रूखको शीतल छहारी हेरी गाडी रोक्न भनियो । उनले  वास्ता गरेनन् वा मनपायक ठाउँ देखेनन् । १० बजेतिर हामी हिंडिरहेको नहरभन्दा उत्तरतर्फ सीमावर्ती गण्डक नहर जान मोडियौं । केही पर एउटा गाउँ आयो, लक्ष्मीपुर । लक्ष्मीपुरको छेउमा एउटा रमणीय फूलबारी थियो, जहाँ ब्रह्मस्थान, चापाकल थियो । त्यहीं नाश्ता खाने निर्णय भयो । अलिअलि मोटा रामानन्द गाडीबाट उत्रने, लघुशङ्का गर्ने र हातमुख धुनतिर लागे । उता रमेशदत्तले भने भुइँमा त्रिपाल हालेर आफूले ल्याएको  विशेष प्रकारको पुरी, तरकारी आदि सबैलाई पस्कन थाले । रामानन्द आएर आफूले ल्याएको रोटी झिके । तबसम्म सबैले अघाउन्जी खाइसकेका थिए । रामानन्दलाई पर्नु पीर पर्यो । मैले रोटी ल्याउँछु भनेकै थिएँ, फेरि कसले जान्ने भएर पुरी ल्यायो ? अब मेरो रोटी कसले खान्छ ? मैले रमेशजीतिर आँखा झिम्क्याउँदै भने–रमेशजी तपाईंले नचाहिंदो काम गर्नुभयो । अब रामानन्दको रोटी तपाईंले खाएर सिध्याउनुहोस् । सबैले गच्छे अनुसार एक–आध दालरोटी लिए, तर भरूवा खुर्सानीको अचार भने सबै मिलेर सिध्याइदिए ।

यो ठाउँमा हामीलाई केही ढिलो भयो । भएको के थियो भने हामी फूलबारीमा पसेकै बेला एकजना स्थानीय मानिस भेटिए । उनीसँग भलाकुसारी हुन थाल्यो । उनी परेछन् कविजी । हाँक्न थाले । निकै बेर उनीसँग बोर भएपछि मैले श्यामलाई उनको जिम्मा लगाएर आफू पन्छिएँ । उनी एउटा कविता वाचन गर्न थाले । श्याम दिक्क भएपछि रमेशजीलाई अघि सारिदिए । रमेशजीले रामानन्दलाई र एवं रीतले हामी सबैलाई बोर हुने पराकाष्ठासम्म पुर्याएर कविजी लोटामा पानी भरेर खेततिर लागे ।

त्यहाँबाट हिंडेपछि करीब एक किलोमिटर पर नहर भेटियो । नहरमा उक्लिनेबित्तिकै रामानन्दको रोष प्रकट भयो । यो नहरले हाम्रो पिछा किन छोडिरहेको छैन ? हामीले भन्यौं–नहरले होइन, हामीले नै पिछा नछोडेको ? अर्को बाटो लामो पनि छ, त्यहाँ प्रहरी पनि बस्छ । कुनै बददिमागले समायो भने गाडी सिज गर्न बेर लाउँदैन । झन् मना गर्दागर्दै तिमीले जुन चीज ल्याएका छौ, त्यो फेला पर्यो भने जेलमा थुन्न पनि बेर लाउँदैन । सिक्टामा प्रहरीले जब केके सामान ल्याउनुभएको छ भनी सोध्दा खानतलाशी गर्छ कि भनेर रामानन्दको ओठ–तालु सुकेको थियो । यति सुनेपछि–होइन, नहर नछाडौं भने । हामी १ः३० बजेतिर त्रिवेणी पुग्यौं । भारततर्फको त्रिवेणी, पुल पारी नेपाली त्रिवेणी थियो । यहाँ पनि खासै सोधखोज भएन । सामान्य कुरा गरेपछि सीमा प्रहरीले जान दियो ।

नजाने ठाउँ आइएको थियो । कहाँ त चितवन हुँदै राति गोरुसिङ्गेबाट उत्तर सुपा देउरालीको दर्शन गर्दै चीसो नरपानी रिसोर्टमा बस्ने योजना बनाइएको थियो, कहाँ चर्को घाम भएको ठाउँमा आइपुगियो । नेपाली सीमामा प्रवेश गरेपछि एकजना प्रहरी भाइसित रामानन्दले सोधे–भाइ यहाँ हेर्न लायक केके छ । बिचरा प्रहरी टन्टलापुर घाममा उभिएर बताउन थाले । रामानन्द एउटै कुरा कोट्याइकोट्याई सोधिरहेका थिए । गर्मी पनि प्रचण्डको थियो । मलाई झर्को लागेर ड्राइभरलाई भनें–ए भाइ हिंड्न । बाटो थाहा भइहाल्यो नि । किनकि दुईतीन पटक यहाँ आइसकेका श्यामभाइ हाम्रै साथ थिए । मेरो कुराले प्रहरी र रामानन्द दुवै रिसाए । झन् घाममा उभिएर म बताउँदै छु तपाईंलाई चाहिं हतार लाग्यो । रामानन्दले पनि प्रतिक्रिया दिए–तँलाई सहुर नै छैन । बिचरा घाममा उभिएर बताइरहेको थियो । पछि त घाममा उभिएर प्रहरीले मलाई बतायो भन्ने रामानन्दको थेगो नै बन्यो । कहाँसम्म भने श्रीमामा जो पहिले हामीसँगै जानेवाला थिए पछि हामी फर्केपछि उनले मलाई पनि त्रिवेणी जाउँजाउँ लाग्यो भनी सोध्दा रामानन्दले नेपाल पसेपछि प्रहरी भाइलाई सोध्नुहोला उसले घाममा उभिएर सबै कुरा बताइदिन्छ भने । त्यसै बेला श्याम भाइले चुस्की लिए–श्रीमामा १ घाम भएको बेला जानुहोला, ठण्ढामा जानुभयो भने कि प्रहरीभाइले बताउने छैनन् वा घाम नलागुन्जेल तपाईंले कुर्नुपर्नेछ ।

हामी पुगेको समय मन्दिरहरू बन्द भइसकेका थिए । त्यसैले पहिलो महादेव मन्दिर पुग्दा नियास्रो लाग्यो । त्यहाँबाट तल श्रीहरिले गोहीले हात्तीलाई समात्दा लाचार भएर हात्ती (गजेन्द्र)ले आत्र्तनाद गरेको र मुक्त भएको ठाउँ रहेछ । म घाममा तलसम्म गइनँ, अरूहरू गए । त्यहाँबाट हामी गजेन्द्र मोक्ष मन्दिर पुग्यौं हामीसँग एकजना पाहुना पनि हुनुहुन्थ्यो । पर्सा जिल्लाका वर्तमान प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीका पिताजी– नन्दलाल रेग्मी । उनले त्रिवेणी, गजेन्द्रमोक्ष आदिबारे पुस्तकमा पढेको, पुग्ने रहर पनि भएको, अहिले यसरी एक्कासि, विनायोजना आइपुग्दा अतिशय खुशी लागेको बताए । मन्दिरको रेखदेख र व्यवस्थापनमा सक्रिया एकजना बाबा उदयराज शर्माका भान्जा मनोज रहेछन् । श्यामसँग पूर्वपरिचित । यद्यपि उनले मलाई पनि चिनेका रहेछन् मैले चाहिं चिन्न नसकेको । उनले मन्दिर घुमाइदिनेलगायत धेरै सत्कार गरे । मन्दिर नखुलुन्जेल मही ख्वाएर हामीलाई अलमलाइराखे । पछि मन्दिर खुल्यो र विशेष पूजा गराएर मात्र जाने अनुमति दिए । सुरेन्द्रजीले आफ्ना दिवङ्गत छोराको नाममा बालभोगका लागि विधिपूर्वक पूजा गरी चन्दा दिए । उखर्माउलो गर्मीले मन्दिर र अन्य ठाउँ घुम्दा पैताला आगोले पोलेजस्तो अनुभूति भएको थियो ।  जुत्ता लगाउनेको त मोजाले केही उष्मा सोस्थ्यो, हामी चप्पलवालाले भने ऐøयाआत्थु भन्नुबाहेक केही गर्न सकेनौं । क्रमशः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here