- डा शिवशङ्कर यादव
यस अङ्कको लेखमा मनोरोग कसरी पत्ता लगाइन्छ र कसरी त्यसको उपचारगरिन्छ भन्ने बताइने छ । त्यसपछि पार्टिकुलर मनोरोगको विवरणको पालो आउने छ ।
भनिन्छ अमेरिकामा प्रत्येक चारजनामध्ये एकजना मनोरोगी हुन्छ । हाम्रोमा पनि दृश्य त्यस्तै हुनुपर्छ तर यहाँ त्यसरी गम्भीर सर्वेक्षण गरिएको छैन । वास्तवमा हामीले पागल भएकोलाई मात्र मनोरोगीको रूपमा बुझ्छौं र यो पनि मानेर बसेका हुन्छौं कि पागलपन कहिले पनि ठीक हुँदैन । तर यो हिजोको कुरा थियो । आज चिकित्सा विज्ञानले धेरै कुरा सम्भव बनाइसकेको छ । पागलपन मानसिक रोगको सबैभन्दा भीषण रूप भए पनि त्यो पनि ठीक हुन्छ । आवश्यक हुन्छ लामो समय ओषधोपचार र धैर्य राखी खाने र कहिलेकाहीं जीवनभरि खानुपरे पनि नआत्तिने । तर हाम्रो कमजोरी के हो भने हामी डायबिटिज र विपीको औषधि खान कुनै आपत्ति गर्दैर्नौं तर लामो पागलपन वा मनोरोगबाट आजित हुन्छौं ।
यो सत्य हो कि कुनै पनि मनोरोगको ओषधिको कोर्स ६ महीनाभन्दा कमको हुँदैन । भोलि के हुन्छ थाहा छैन, तर आज त लामो अवधिको औषधोपचार स्वीकार्नैपर्छ । भोलि रोगी जीनहरूलाई पूरै फेरेर पूर्ण रोगमुक्त मानिस उत्पन्न गर्न सकिएला, आज भने जे उपलब्ध छ, त्यो स्वीकार गर्नुको विकल्प छैन । मनोरोग विचित्र र थरीथरीको हुन्छ जसलाई बुझ्न पनि गार्हो पर्छ । मेरा एक मित्रकी पत्नी बिल्कुल स्वस्थ, तर सफाइप्रति अति संवेदनशील थिइन् । मित्र खुशी थिए कि पत्नी यति सफाइपसन्द छिन् । तर जाडो महीनामा पनि अलिकति मात्र फोहोर देखिए छोराछोरीलाई आधारातमा पनि नुहाइदिने गर्न थालिन् मित्रलाई शङ्का लाग्यो । मित्रले डाक्टरसँग राय लिए । राँची लगेर ओषधोपचार गराएपछि अहिले स्थिति ठीक छ तर औषधि भने आजीवन खानुपर्छ । मतलब यो कि मनोरोगको उचित तरीकाले पत्ता लगाउनु जरूरी छ र अन्य रोग सरह केवल पैथोलोजिकल जाँचले मात्र काम चल्दैन । रोगीसँग मात्र सिटिङ गरेर सोधखोजले काम चल्दैन, परिवारसँग पनि सोधपुछ गर्न जरूरी हुन्छ । साथै उसको गतिविधिको डाक्टर वा परिवारजनले सूक्ष्म निरीक्षण गर्नुपर्छ । यसरी मनोरोगको निदानमा मनोचिकित्सक मात्र होइन, जेनेरल चिकित्सक र प्रैक्टिशनरको पनि साथ जरूरी हुन्छ, किनभने जेनेरल रोगीमध्ये एकतिहाई मनोरोगले पनि ग्रसित हुन्छ । अतः मनोरोग भएको निष्कर्ष निम्नलिखित तरीकाबाट प्राप्त हुन्छ ः
सोधपुछ वा रोगीसँग इन्टरभ्यु ः सोधपुछ वा रोगीको विगत–अवलोकन मनोरोगमा जति जरूरी हुन्छ, अन्य रोगमा हुँदैन । त्यसको लागि एउटा स्कीम नै तयार पारिन्छ, त्यसको कुनै हार्ड एन्ड फास्ट रूल छैन । डाक्टरले प्रश्न सोधेपछि उसको कुरा सुन्ने धैर्य राख्नुपर्छ । पहिले त अन्य रोगी सरह नै उसको नाम,पता र लिङ्ग नोट गर्नुपर्छ । यसबाहेक रोगीको हेरालुसँग पनि सोधपुछ गर्नु अति आवश्यक हुन्छ । किनभने प्रFयः रोगीले आफूलाई रोग छ भनी स्वीकार गर्दैन । त्यसपछि रोगीको मुख्य लक्षणमा ः रोग कहिलेदेखि शुरू भयो, के केले रोग बढाउँछ र केले घटाउँछ ? वर्तमानमा के के हुन्छ ? रोगी कहिलेसम्म ठीक थियो ? रोग कसरी बल्झिंदै गयो ? भोक, निद्रा र सेक्स स्थिति कस्तो छ ? सुसाइडल टेन्डेन्सी छ कि छैन ? टाउकोमा चोट लागेको वा नलागेको आदि । त्यसपछि रोगीको पूर्व इतिहास ः रोगीलाई पहिले पनि यस्तो भएको थियो, अल्कोहल वा कुनै ड्रग लिने बानी छ–छैन ? कुनै अन्य रोगको चपेटा, सर्जिकल जटिलता, डायबिटिज, बिपी, सिफलिस, एचआइभी बारे सोधिन्छ । त्यसपछि रोगीले पहिले पनि औषधि लिएको वा अस्पताल भर्ना भएको–नभएको ? रोगीको पारिवारिक इतिहास पनि जान्नु उत्तिकै जरूरी हुन्छ जसमा उसको परिवारिक न्युक्लियर वा कम्पाउन्ड कस्तो छ ? उसको सोसल स्टेटस–गरीब, मध्यवर्ग वा अमीर ? उसको आमाबाबु र हजुरआमाबाबुमा यस्तै कुनै रोग थियो कि थिएन ? आमाबाबु दुवै पीडित छन् भने ४० प्रतिशत बच्चामा हुने सम्भावना हुन्छ ।
यसपछि व्यक्तिगत इतिहासः जन्मने बेलाको जटिलता, जन्मको बेला अन्डरवेट–ओभरवेट वा सामान्य, जन्मपछि रोएको वा नरोएको, आमाको दूध कति खाएको वा नखाएको, स्कूलमा शिक्षक वा सहपाठी सँग राम्रो सम्बन्ध रहेको वा नरहेको, पढाइ कति कठिन लाग्ने गरेको, विद्यालयमा मारपीट गर्ने गरेको कि नगरेको ? खेलमा रुचि भए–नभएको, थियो भने कुन खेलमा ? यी कुरा रोगीभन्दा उसका आमाबाबुले राम्ररी बताउन सक्छन् । त्यसपछि किशोरावस्थाको प्रश्न ः मेनार्की कति वर्षमा भयो, हस्तमैथुन वा ट्वायसेक्सको बानी छ कि छैन ? आमाको उमेरमा गर्भपतन र डिफिकल्ट लेबरले पनि महत्वपूर्ण सूचना दिन्छ । त्यसपछि रोगीको काम, हाकिमसँग सम्बन्ध र काम जारी छ वा छुटेको छ, सोधिन्छ । त्यसरी नै वैवाहिक जीवनको प्रश्न त झन् सर्वोपरि छ, जसमा वैवाहिक जीवन कस्तो छ ? पत्नीसँग सहयोग वा वितृष्णा के छ ? तलाक आदि कुराले धेरै प्रभाव पार्छ । भागी वा मागी विवाह गरेको ? यसमा चाखलाग्दो कुरा यो छ कि बढी असफल भागी विवाह देखिएको छ । त्यसपछि सोधिन्छ कि साथीसङ्गीसँग के कस्तो व्यवहार छ ? छिटै रिसाउने बानी छ कि ? छुट्टीको उपयोग कसरी गरेको र दिनभरिको दिमागी परिवर्तनबारे पत्ता गरिन्छ ।
त्यसरी नै रोगीको लक्ष्य, असफल वा सफल जीवन, धार्मिक विचारमा कट्टरता वा सहिष्णुता, दिवास्वप्न, बानी र हाबीका प्रश्न हुन्छन् । बल्ल रोगीको शारीरिक जाँचको पालो आउँछ जुन निम्नलिखित छन् ः सामान्य भावदशा र व्यवहार ः व्यवहार सामान्य छ कि छैन, जाँभ गर्ने चिकित्सकसँग उसको व्यवहार कस्तो छ ? रोगीको भावभंगिमा र बडीलंग्वेज कस्तो छ ? उसको मांसपेशीको कार्य सोसल मैनर र सम्बन्ध कस्तो छ ? अब रोगीको स्पीचमा ध्यान दिइन्छ ः उसले बोल्ने शब्दको रेट, भोल्युम, टोन, रफ्तार र लय कस्तो छ ? अनि मुड फ्लक्चुयेशनलाई ध्यानपूर्वक देखिन्छ । उसको विचारको प्रवाह र विषय पनि नोट गरिन्छ । सहयोग, ध्यान, एकाग्रता र मेमोरी तथा निर्णय क्षमता कस्तो छ भने जाँच गरिन्छ ।
चिकित्सकले यी सबै आधारमा रोगीको रेटिंग गर्छ जुन ६ प्रकारको हुन्छ ः १. यसमा रोगीले बिमारी भएको कुरा नै अस्वीकार गर्छ २. रोगीले रोगको स्वीकार गरेजस्तो गर्छ तर तुरून्त अस्वीकार गर्छ ३. रोगीले रोग स्वीकार गर्छ तर त्यसको कारण बाहिरी र भौतिक तत्वलाई बताउँछ ४. रोगीले रोग स्वीकार त गर्छ, तर आफूभित्र केही अनजान कमीलाई कारण बताउँछ ५. रोगीले स्वीकार गर्छ कि समाजसँग एडजस्ट गर्न सक्दैन तर त्यसको निदानमा सक्षम भए पनि केही गर्दैन ६. मानिस आफ्नो भावना, बानी र व्यक्तित्वमा केही बदलाव त गर्छ तर त्यो पर्याप्त हुँदैन । अन्तमा रोगीको बायलोजिकल परीक्षण गरिन्छ जसमा निम्नलिखित सबै छन् तर क्लिनिकल डायग्नोसिस र रोग अनुसार सीमित गरिन्छ ।
ती हुन्– हेमोग्लोबिन, रक्तकणको जाँच, पिसाब जाँच, रेनल फंक्शन, लिभर फंक्शन र थायरायड फंक्शन टेस्ट, एचआइभी र भिडिआरएल टेस्ट, एक्सरे चेस्ट र हेड, इइजी, इसिजी, स्लीप टेस्ट, ब्रेन, सिटी र एमआरआई, विभिन्न हार्मोनल टेस्ट, सिएसएफ, आइक्यु टेस्ट आदि रोगको कन्फर्मेशन र डिफरेन्सियल डायग्नोसिस डाक्टरको रुचि र आवश्यकता अनुसार गरिन्छ । पाठकवृन्द १ यति लामो विवरण हेरेर आत्तिनुपर्दैन । अनुभवी चिकित्सक रोगीलाई देख्नेबित्तिकै पनि निष्कर्षमा पुग्न सक्छ । चिकित्सकको निरन्तरको अबजर्वेशनले उसलाई सक्षम बनाएको हुन्छ र बायलोजिकल टेस्टलाई त्यसै अनुसार सीमित गरिन्छ । अस्तु !