प्रमोद यादव, पचगावाँ, १८ जेठ/
गर्मी बढेसँगै पर्सा जिल्लाका सामुदायिक विद्यालयहरू धमाधम बन्द भएका छन् । यता केही दिनदेखि अचाक्ली गर्मी बढेको र केही विद्यार्थी बेहोश हुने जस्ता घटना भएपछि वर्षे बिदामा कट्टा हुनेगरी पालिकाहरूले सामुदायिक विद्यालय बन्द गरेका छन् ।
वीरगंज महानगरपालिकाले हिजो जेठ १९ गतेदेखि २६ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने सूचना जारी गरेको थियो । महानगरपछि बिहीवार पर्सा जिल्लाका अधिकांश पालिकाहरूले सोही अवधिसम्म विद्यालय बन्द गर्न सूचना जारी गरेका छन् ।
विन्ध्यवासिनी गापाले मात्र जेठ १९ गतेदेखि २२ गतेसम्म चार दिन बिदा घोषणा गरेको छ भने जगरनाथपुर, सखुवापरसौनी, कालिकामाई, पटेर्वासुगौलीले सूचना जारी गरेर जेठ २८ गते विद्यालय सञ्चालन हुने जानकारी गराएका छन् ।
यसैबीच नेविसङ्घले गर्मीको कारण हिजो एकजना छात्रा बेहोश भएकी पटेर्वासुगौली गापा–४ भतौडाको वनदेवी आधारभूत विद्यालयलाई चारवटा पङ्खा सहयोग गरेको छ । नेविसङ्घ, पर्साका अध्यक्ष्F रमेश यादवले चार थान पङ्खा प्रअ सुभाषप्रसाद दास र विद्यालय व्यवस्थापन समितिका सदस्य मदन तिवारीलाई हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले बताए ।
यसैगरी नेविसङ्घले पटेर्वासुगौली गापाका अध्यक्ष दिनेशकुमार चौधरी र उपाध्यक्ष ममता महतोलाई ज्ञापनपत्र बुझाएको छ ।
नेविसङ्घ, पर्साका अध्यक्ष यादवले बुझाएको ज्ञापनमा गापामा रहेका विद्यालयहरूको अनुगमन गरेर खानेपानी, फर्निचर, कक्षा कोठाको अवस्था र पङ्खाको व्यवस्था भए–नभएबारे अनुगमन गरी त्यसको व्यवस्थापन गर्न सुझाव दिएको छ ।
प्रस, सेढवा/
छिपहरमाई गाउँपालिकाले आइतवारदेखि शुक्रवार जेठ २६ गतेसम्म गापाभित्र रहेका विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको छ । प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले गापाभित्र सञ्चालित सम्पूर्ण विद्यालयमा गर्मी बिदा दिएको जनाएका छन् ।
प्रस, पर्सागढी/
पर्सागढी नगरपालिका–४ का जसपाका युवा नेता सुरज मानन्धर र समाजसेवी कमल केसीले नपाभित्रका विभिन्न विद्यालयमा पङ्खा वितरण गरेका छन् ।
गर्मीले विद्यार्थीलाई पठनपाठनमा समस्या नहोस् भनेर मानन्धर र केसीले नेरानिमाविमा पाँच थान पङ्खा, कोइलााभार आधारभूत माविमा पाँच थान, नेराआवि जयराजपुरमा तीन थान र वडा नं ७ स्थित मदर्सामा तीन थान पङ्खा वितरण गरेका हुन् ।