प्रस, वीरगंज, १७ जेठ/
वीरगंज महानगरपालिकाको आयोजनामा बुधवारदेखि आठ दिने सरसफाइसम्बन्धी तालीम शुरू भएको छ । महानगरपालिकाको सहयोगमा नेशनल इन्प्लोयमेन्ट डेभलपमेन्ट सेन्टर प्रालिले शुरू गरेको तालीमको नगरप्रमुख राजेशमान सिंहले उद्घाटन गरे । उनले सरसफाइसम्बन्धी सचेतना पैmलाउनुका साथै फोहरको उचित व्यवस्थापन गरी त्यसबाट कसरी आम्दानी गर्न सकिन्छ भन्नेबारेमा सीप सिकाउने अभिप्रायले तालीम आयोजना गरिएको बताए ।
उनले महानगरलाई सफा र सुन्दर बनाउने अभियानलाई सफल बनाउन र फोहरको सही व्यवस्थापन गर्न सबैजना सचेत हुनुपर्ने र त्यसका लागि तालीम आवश्यक भएको बताए । उनले महानगरको अहिलेको सरसफाइमा परिवर्तन देखिए पनि पर्याप्त नभएको र त्यसका लागि थप कार्यहरू प्राथमिकताका साथ गरिरहेको बताए । उनले फोहर व्यवस्थापनबाट अहिले आफू सन्तुष्ट नभएको भन्दै महानगरका गली, सडक, नालाहरू आफ्नै कार्यकालमा सफा गराउने दाबी गरे ।
वडा नं ११ का अध्यक्ष अजयकुमार चौरसियाले महानगरको सरसफाइसम्बन्धी अभियानमा सबैको साथ र सहयोग आवश्यक भएको बताए । उनले सबै वडाध्यक्ष आआफ्नो वडामा सक्रियपूर्वक लागेको खण्डमा महानगर सफा र सुन्दर देखिने बताए । तालीमको सहजीकरण आयोजक संस्थाका संयोजक सञ्जीव तिवारीले गरेका थिए ।
यसैबीच, महानगरले बुधवार जिल्ला प्रशासन कार्यालय, पर्सादेखि दक्षिणतर्फको नाला सफाइ गरेको छ । पञ्चायतकालमा विश्व बैंकको सहयोगमा तत्कालीन नगरपञ्चायतले रु दुई करोड ७० लाखको लागतमा जिल्ला हुलाकदेखि श्रीसिया नदीसम्म १० फुटे नाला निर्माण गरेको थियो । सोही क्रममा जिल्ला प्रशासन कार्यालयको दक्षिणतर्फको नाला पनि बनेको थियो । १० फिटे नाला निर्माण भएपनि सरसफाइको समस्याले गर्दा ठाउँ–ठाउँमा नाला जाम हुने र वर्षाको समयमा नगरपालिका डुबानमा पर्ने गरेको थियो । विश्व बैंकको सहयोगमा निर्मित नालाकै एरियामा पछि एडिबीको सहयोगमा महानगरमा सञ्चालित मझौला शहर एकीकृत वातावरणीय योजना अन्तर्गत साढे तीन सय करोडको लागतमा नाला, सडक निर्माण कार्य पनि भएको थियो ।
पुरानै नालामा एडिबीले काम गरे पनि ठाउँ–ठाउँमा सवारीसाधन प्रयोग हुन नसक्दा नालाको सफाइ हुन सकेको थिएन । सोही कारणले कतिपय ठाउँमा एडिबीले मझौला शहर एकीकृत वातावरणीय योजना अन्तर्गत नाला बनाउने कार्यलाई उलटपुलट गरेको थियो । अहिले सोही नालामध्ये जिल्ला प्रशासनअगाडिको करीब तीन दशक बढी पुरानो नालाको सफाइ गरेको हो । जिल्ला प्रशासन कार्यालयको पर्खाल भत्काएर आज एक्साभेटरद्वारा पुरानो नाला सफाइ गरिएको हो ।
सफाइ कार्यपछि वर्षाको पानी सहजरूपमा नालामार्फत पास हुने र डुबानको समस्या केही हदसम्म नियन्त्रण हुने महानगरले विश्वास लिएको छ ।