सोल, १७ जेठ/सिन्ह्वा

प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डिपिआरके)को जासूसी उपग्रह प्रक्षेपण असफल भएको छ ।

पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार समिति कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसिएनए)ले जनाएको छ ।

उत्तर कोरियाको नेशनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन (एनएडिए) ले आजको दुर्घटनाबाट पाठ सिक्दै चाँडोभन्दा चाँडो अर्को उपग्रह प्रक्षेपण गर्ने बताएको छ ।

रकेट इन्जिन प्रणाली र इन्धनका कारण दुर्घटना भएको प्रारम्भिक विवरणमा उल्लेख छ ।

एरोस्पेस एजेन्सीले उपग्रह प्रक्षेपणमा देखा परेका गम्भीर त्रुटिहरूको विस्तृत अध्ययन गर्ने, तिनलाई हटाउन तत्काल वैज्ञानिक र प्राविधिक उपायहरू गर्ने र विभिन्न भागको परीक्षण गरी जतिसक्दो चाँडो दोस्रो प्रक्षेपण गर्ने बताएको छ ।

यसैबीच फ्रान्सेली समाचार समिति एएफपीका अनुसार उत्तर कोरियाले अमेरिकी सैन्य गतिविधिको सूक्ष्म निगरानी गर्न यही जेठ २८ भित्र आफ्नो जासूसी उपग्रह प्रक्षेपण गर्ने योजना सार्वजनिक गरेको थियो ।

प्योङयाड्ढो आजको असफल प्रक्षेपणले दक्षिण कोरियाको राजधानी सोलमा हल्लीखल्ली मच्चियो भने जापानको दक्षिणी ओकिनावाका बासिन्दालाई सतर्क रहन सुरक्षा चेतावनी जारी गरिएको थियो ।

सोलमा अराजकता र अन्योल छायो, जब मानिसले हवाई आक्रमणको साइरन सुने र उनीहरू भाग्ने तयारीमा जुटे । आपत्कालीन सन्देश प्रवाह भएको २० मिनेटपछि मात्र त्यो त्रुटिवश प्रवाह भएको वास्तविकता बाहिर आयो । आजको अफवाहले सुरक्षा सतर्कता प्रणालीप्रति विश्वास गुमेको ३३ वर्षीया एक गृहिणीले बताएकी छन् ।

 “उत्तर कोरियाले दक्षिण कोरियामा सुरक्षा जोखिम बढाएको छ, भविष्यमा सतर्कता चेतावनी जारी हुँदा गम्भीरतापूर्वक लिइन्छ वा लिइँदैन प्रश्न खडा भएको छ”–उनले भनिन् ।

जासूसी उपग्रह प्रक्षेपणको निन्दा

टोकियो/एएफपी

प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डिपिआरके)ले आज गरेको जासूसी उपग्रह प्रक्षेपणको जापान, दक्षिण कोरिया र अमेरिकाले निन्दा गरेका छन् । यद्यपि प्योङ्याड्ढो परीक्षण दुर्घटनाका कारण असफल भएको छ ।

जापानले उत्तर कोरियाको उपग्रह प्रक्षेपणको असफल प्रयासबाट संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्तावहरूको गम्भीर उल्लङ्घन भएको उल्लेख गर्दै त्यसको निन्दा गरेको छ । “उत्तर कोरियाको उक्त कदमको जापान विरोध र निन्दा गर्छ,” जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले भनेका छन् । उत्तर कोरियाली अधिकारीहरूका अनुसार प्योङ्याङले टोकियोलाई प्रक्षेपणका सम्बन्धमा जानकारी दिएको थियो ।

जापानका रक्षामन्त्री यासुकाजु हामादाले पत्रकारहरूमाझ भनेका छन्, “हामी यस प्रकारको प्रक्षेपणलाई सहन सक्दैनौं, चाहे त्यो उपग्रह होस् वा अन्य कुनै चीज, यसले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावलाई उल्लङ्घन गरेको छ ।”

संयुक्त राज्य अमेरिकाले प्रक्षेपणको निन्दा गर्दै प्योङ्याङलाई तत्काल उत्तेजक कार्य बन्द गर्न आह्वान गरेको छ । राष्ट्रिय सुरक्षा प्रवक्ता एडम होजले प्योङ्याङ र वाशिङ्टनबीचको कूटनीति संवाद बन्द नभएको उल्लेख गर्दै उनले आफू र आफ्ना सहयोगीलाई बचाउन अमेरिकाले सबै आवश्यक उपाय अवलम्बन गर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि यस कदमको निन्दा गर्दै प्योङ्याड्ढो पछिल्लो प्रक्षेपणको निन्दा गरेका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले सैन्य भूउपग्रहको विकासलाई आफ्नो देशको प्रतिरक्षाको प्रमुख अङ्ग भएको स्पष्ट गरेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here