प्रस, रौतहट, १३ जेठ/

गौर नगरपालिकाका प्रमुख शम्भु साहले शनिवार पत्रकार सम्मेलन गरी एक वर्षको प्रगति विवरण  सार्वजनिक गरेका छन् ।

नगरप्रमुख साहले विकास निर्माण कार्यमा सडक ढलान, नयाँ ट्र्याक सञ्चालन, नाला निर्माण, बिजुलीको पोल सार्ने कार्य, शहरी विकास परियोजनाको अवरुद्ध कार्यलाई निरन्तरता, तीनवटा पोखरीमा सूर्य मन्दिर निर्माण, लालबकैया नदीको बाँधको चार स्थानमा आरसिसी ढलान, धेरै दिनदेखि अलपत्र अवस्थामा रहेको झोलुङ्गे पुल निर्माण पूरा गराएर उद्घाटन, शिक्षातर्फ विद्यालयहरूमा नियमित निरीक्षण गरेर सुधार, स्वास्थ्य क्षेत्रमा सिसवामा बर्थिंग सेन्टर, वडा नम्बर १ मा ल्याब सञ्चालन, सरसफाइको क्षेत्रमा नियमित फोहर व्यवस्थापन, वारुण यन्त्र क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्थालगायत कार्यहरू गरिएको बताए ।

नगरपालिकाबाट सञ्चालित क्षेत्रगत योजनाहरू भौतिक पूर्वाधारतर्फ एक वर्षदेखि अलपत्र गौर नपा–२ अन्तर्गत पर्ने शिवराज मुखियाको घरदेखि शान्ता चलचित्र मन्दिरसम्मको सडक तथा नाला निर्माण, कृषि विकास बैंकदेखि शिवालय मन्दिरसम्म सडक तथा नाला निर्माण, गौर नपा–४ मा वर्षौंदेखि अतिक्रमण गरी राखेको लाल बकैया नदी तटबन्धको अधिकार क्षेत्रको जग्गा अतिक्रमण मुक्त गराई गौर–२ को महादेव स्थानदेखि गौर नपा–४ को सावणांमाई मन्दिरसम्म वैकल्पिक बाटो निर्माण, टि.भी.एस.यु. /हेल्भिटासबाट कालो सूचीमा रहेका योजना गौर बरहवा खोलामा फेब्रिकेटेड झोलुङ्गे पुल सञ्चालन, समुदायमा हस्तान्तरण, गौर नपा–२ वानेश्वरनाथ मन्दिर नजीक लालबकैया नदीमा रु ४ करोड २९ लाख लागतमा झोलुङ्गे पुलको निर्माणको लागि ठेक्का सम्झौता र निर्माण कार्य सञ्चालन, गौर नपा–२ मा विवाह मण्डपसहितको सामुदायिक भवन निर्माण शुरू गरिएको नगरप्रमुख साहको वार्षिक प्रगति विवरणमा उल्लेख छ ।

त्यसैगरी हिंसा पीडित महिलाहरूको व्यवस्थापनका लागि गौर नपा–१ मा आश्रयस्थल निर्माण, गौर नपा– ८ र ९ जोड्ने सडक ढलानको कार्य सम्पन्न गरी समुदायलाई हस्तान्तरण, वर्षौदेखि कच्ची रहेको तथा नालाको अभावमा वर्षात्मा डुबान हुने गौर नपा– ५ को कोइरीटोलमा रु ४६ लाख ७१ हजार लागतमा सडक ढलान तथा नाला निर्माण, गौर नपा– ४ गढवाटोलको चित्रगुप्त नगरदेखि गढवा उत्तरी सिमानासम्म सडक ढलान र नाला निर्माण कार्य अन्तिम चरणमा रहेको जानकारी गराइएको थियो ।

ऐतिहासिक महत्व बोकेको देशकै पुरानो कलाकुञ्ज पुस्तकालयको अधूरो भवन निर्माणको काम अगाडि बढाइएको, गौर नगरपालिका तथा राजदेवी नगरपालिका जोड्न बरहवा खोलामा पुल कल्भर्ट निर्माणको काम अगाडि बढाइएको नगरप्रमुख साहको वार्षिक प्रगति विवरणमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here