प्रस, वीरगंज, १० जेठ/
जिल्ला प्रहरी कार्यालय, पर्सा मुद्दा फाँटका वरिष्ठ प्रहरी नायब निरीक्षकसहित तीनजना प्रहरी घूसकाण्डमा निलम्बित भएका छन् ।
जिप्रका, पर्साले बुधवार वरिष्ठ प्रहरी नायब निरीक्षक वसन्त भट्टराई, प्रहरी नायब निरीक्षक जयमोद ठाकुर र प्रहरी जवान महेश महतोलाई घूसकाण्डमा निलम्बन गरेको छ ।
प्रहरी जवान महतोलाई घटना भएको जेठ ८ गते निलम्बन गरिएको थियो भने दुईजनालाई आज निलम्बन गरिएको प्रहरी स्रोतले जनाएको छ । पोखरिया नगरपालिका–४ का एकजना व्यक्तिले रु २० लाखको चेक अनादर मुद्दा दिएका र सो मुद्दामा प्रज महतोले निजसँग रु एक लाख घूस मागेका थिए । मुद्दा फाँटका वरिष्ठ प्रनानि भट्टराई, प्रनानि ठाकुरसँगै आफ्नोलागि उनले रु एक लाख मागेको र सो कुरा प्रहरी उपरीक्षक कोमल शाहले थाहा पाएपछि महतोलाई जेठ ८ गते र दुईजनालाई आज निलम्बन गरेका हुन् ।
जिप्रका, पर्साको मुद्दा फाँटमा करीब १५ जना कार्यरत छन् । प्रहरी महानिरीक्षक हुनुअघि मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख रहेका डिआइजी वसन्त कुँवरले पर्सा प्रहरीको मुद्दा फाँटमा काजमा खटेका सबैलाई एकैसाथ हटाएका थिए । काजमा रहेकाहरूलाई मुद्दा फाँटमा नराख्न उनले निर्देशन दिएको तर अहिले उनी प्रहरी महानिरीक्षक भएपछि उनैले पर्सा प्रहरीको मुद्दा फाँटमा काजमा खटाएका थिए । तिनै खटेकामध्ये वप्रनानि भट्टराई, प्रनानि ठाकुर र प्रज महतो रहेको स्रोतले जनाएको छ । पर्सा मुद्दा फाँटको प्रमुखमा प्रहरी निरीक्षक प्रकाश बस्नेत दरबन्दीमा छन् ।