जीतलाल श्रेष्ठ, निजगढ, १० जेठ/

कोल्हवी नगरपालिका वडा नं १ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक स्वास्थ्य उपचार सेवा बुधवारदेखि सुचारु भएको छ । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख रामप्रसाद चौधरीले उद्घाटन गर्दै नगरवासीले २४सैं घण्टा प्राथमिक उपचार पाउने जसका लागि नगरपालिकाले चिकित्सक, स्वास्थ्यकर्मी, औषधिको व्यवस्था गरिसकेको बताए । भिडियो एक्स–रे, प्रसूति सेवालगायतका अन्य स्वास्थ्यसम्बन्धी उपचार र औषधि सहजरूपमा सेवाग्राहीहरूलाई उपलब्ध गराइने बताए । ती सेवाबाट कोही नगरवासी वञ्चित हुन नसक्ने नगरप्रमुख चौधरीले बताए ।

कार्यक्रममा उपप्रमुख लक्ष्मीकुमारी चौधरीले नगरको अति आवश्यक सेवामध्ये स्वास्थ्य सेवा भएकोले आकस्मिक स्वास्थ्य सेवाबाट कोही नगरवासी वञ्चित नहुनेमा आफू आशावादी रहेको बताइन् । विशेषगरी प्रसूतिसम्बन्धी स्वास्थ्य परीक्षण र प्रसूति सेवा उपलब्ध गराउन एम्बुलेन्स सेवा पनि उपलब्ध रहेको उनले बताइन् । नगरका महिलाहरूले प्रसूतिको प्रसव पीडाबाट अकालमा ज्यान गुमाउनु नपर्ने वातावरण नगरपालिकाले गरेकोसमेत उपप्रमुख चौधरीले बताइन् ।

भौतिक संरचना निर्माण भएर पनि लामो समयदेखि आकस्मिक सेवा सुचारु हुन नसक्दा नगरवासीले भोग्नुपरेको पीडालाई मनन गर्दै नगरवासीले पाउनुपर्ने नैसर्गिक स्वास्थ्य उपचारमा निगरानी राख्नुपर्ने कार्यक्रमका वक्ताहरूले बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारी, पूर्वनगरप्रमुख भरतबहादुर भण्डारी, पूर्वउपप्रमुख सुनैनादेवी थरुनी, तपेश्वर चौधरी, रवीन्द्र पनुहर, केवल चौधरी, सुकदेव साह, वडाअध्यक्ष, जनप्रतिनिधिलगायतले मन्तव्य राखेका थिए । वडाध्यक्ष राजहरण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रामसेवक साहले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here