प्रस, वीरगंज, ८ जेठ/
जिल्ला प्रहरी कार्यालय, पर्साले ठगी अभियोगमा पक्राउ परेका अभियुक्तमाथि सार्वजनिक तथा अभद्र व्यवहार मुद्दा चलाएर अनुसन्धान गरिरहेको छ ।
अभियुक्तसँग मिलेमतोमा मुद्दा हल्का गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । घटना विवरण अनुसार गत वैशाख २६ गते पर्सा, विन्ध्यवासिनी गाउँपालिका वडा नं ५ प्रसौनीभाठाको पुलनजीकबाट नेपाल प्रहरीले बिआर ०५ एस ४७०२ नम्बरको मोटरसाइकलसहित दुईजना भारतीय नागरिकलाई स्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा भारत, बिहार, भेलाही निवासी मुन्ना भन्ने धनञ्जयकुमार गुप्ता र मोटरसाइकल चालक मुसाहेब आलम थिए । प्रहरीले उनीहरूमाथि कानूनबमोजिम कारबाही गरिरहेको छ ।
तर सोही घटनामा ठगी गरेका दुईजना अभियुक्तमाथि पर्सा प्रहरीले ठगी मुद्दाको सट्टा सार्वजनिक तथा अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ ।
पर्सा प्रहरीलाई स्रोत नखुलेको १२ लाख रुपैयाँ ओसारपोसार भइरहेको छ भन्ने सूचना दिने व्यक्ति हुन्, पर्सा, पकाहामैनपुर गाउँपालिका वडा नं १ धोरे बस्ने मनीष यादव । उनले प्रहरीलाई खबर गरी दुईजनालाई मोटरसाइकलसहित १२ लाख नेरुसहित समात्न लगाए, त्यसपछि उनी समातिएका ती दुईजनाको घरमा पुगेर उनीहरूलाई छुटाउन बार्गेनिङ गर्दै ठगी गरेका थिए । मनीषले पर्सा प्रहरीका अधिकृतसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै तीन लाख ४० हजार घूस दिन भनी रकम लिएका थिए ।
मनीषसँगै निजका साथी फारूख मियाँले भारतीय नागरिकको परिवारसँग रु तीन लाख ४० हजार लिएर अभियुक्त छुटाउने आश्वासन दिए । तर अभियुक्त नछुटेपछि पक्राउ परेका भारतीय नागरिकका परिवारजनले पर्सा प्रहरीमा उजूरी दिएपछि मनीष यादव र फारूख मियाँ अहिले पर्सा प्रहरीको नियन्त्रणमा छन् ।
ठगी गरेको मुद्दामा मुद्दा हल्का गरी सार्वजनिक मुद्दा किन दर्ता भयो भन्ने प्रश्नमा पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले ठगी गरेको प्रमाण फेला नपरेपछि सार्वजनिक मुद्दा दर्ता भएको बताए । उनले अभियुक्तका परिवारसँग प्रहरीको नाम बेचेर ठगी गरेको प्रहरीमा उजूरी आएपछि चार दिन पहिले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।
“पीडित पक्षको बयानको आधारमा पक्राउ गरिएको हो, तर तीन लाख ४० हजार नै ठगी गरेको हो भन्ने बलियो प्रमाण फेला नपरेपछि ठगी मुद्दा चलाउन सकिएन,” उनले भने ।