प्रस, वीरगंज, ८ जेठ/

बारा–पर्सा भएर बग्ने श्रीसिया नदी प्रदूषणमुक्त बनाउन सङ्घ सरकारले केही पनि प्रयास नगरेको भन्दै पर्साका सांसद प्रदीप यादवले सोमवार संसद्मा चर्काे विरोध गरे ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद यादवले श्रीसिया नदीलाई प्रदूषणमुक्त बनाउन वीरगंज महानगरपालिकाले प्रयास गरिरहेको तर उसको मात्र एकल प्रयासले सो सम्भव नभएकोले सङ्घ सरकारले सहयोग गर्नुपर्ने माग गरे ।

उनले श्रीसिया नदीलाई प्रदूषणमुक्त बनाउन वीरगंज महानगरपालिकाको एकल प्रयास पर्याप्त नभएको भन्दै सङ्घ सरकारले भूमिका खेल्नुपर्ने बताए । उनले श्रीसिया नदी प्रदूषणमुक्त बनाउन महानगरले नदी प्रदूषण गर्ने आसपासका उद्योगहरूलाई पटकपटक जरिवाना गर्दै आएको तर उद्योगहरूले अटेरी व्यवहार गर्दै आएको आरोप पनि लगाए । उनले श्रीसिया नदी प्रदूषणमुक्त बनाउनका लागि अहिले अभियन्ताहरूले नदीको प्रदूषित पानी बोकेर वीरगंज–काठमाडौ पदयात्रा गरिरहेको जानकारी गराउँदै श्रीसिया नदीको सफाइका लागि सङ्घ सरकारले हालसम्म कुनै पहल अगाडि नबढाएकोमा आपत्ति व्यक्त गरे । नदीलाई प्रदूषित बनाउने उद्योगलाई कारबाही गर्न र नदीलाई प्रदूषणमुक्त बनाउन उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको ध्यानाकर्षण पनि गराए । अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री पर्साकै सांसद रमेश रिजाल छन् ।

यस क्षेत्रका स्थानीय बासिन्दाले श्रीसिया नदी प्रदूषणमा स्थानीय नेता तथा सांसदहरू पनि उत्तिकै दोषी रहेको बताए । उनीहरूले यहाँका नेता तथा सांसदहरूले प्रदूषण फैलाउने ती उद्योगहरूसँग महीनावारी लेबी उठाउने गरेकाले ती उद्योगहरूलाई प्रदूषण नफैलाउन नैतिकरूपमा दबाब दिन नसकेको आरोप लगाए । नेता तथा सांसदहरूले ती उद्योगहरूबाट व्यक्तिगत स्वार्थपूर्ति नगर्ने हो भने श्रीसिया नदी प्रदूषणमुक्त गराउन धेरै समय नलाग्ने पनि स्थानीयको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here