हिरोशिमा, ८ जेठ/सिन्ह्वा

ब्रजीलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले आफू र भोलोदिमिर जेलेन्स्कीबीच आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–७) शिखर सम्मेलनमा भेट हुन नसकेकोमा आफू ‘दुःखी’ भएको बताएका छन् ।    

हिरोशिमामा भएको शिखर सम्मेलनबाट नयाँ कूटनीतिक समर्थन र थप सैन्य सहायताको प्रतिबद्धता पाएका जेलेन्स्कीले लुलासँग एक्लाएक्लै भेटको माग गरेका थिए ।    

दुवै नेताले समय तालिकाको विवादले बैठक गर्नबाट रोकेको बताएका छन् । जेलेन्स्कीले आफ्नो व्यस्तताले ब्रजीलियाली समकक्षी ‘निराश’ बनेको हुन सक्ने स्विकारेका छन् ।    

लुलाले भने–“म निराश थिइनँ तर दुःखी छु किनभने म उहाँलाई भेट्न र यस विषयमा छलफल गर्न चाहन्थें ।”    

उनले भने–“जेलेन्स्की वयस्क व्यक्ति हुनुहुन्छ । उहाँलाई थाहा छ कि उहाँले के गर्नुभयो ।”    

लुलाका अनुसार उनको टोलीले आइतवार दिउँसो जेलेन्स्कीसँग बैठक गर्ने कार्यक्रम तय गरेको छ । लुलाले थपे–“युक्रेनी नेता ढिलो आइपुग्नुभएको र त्यसपछिको लागि उहाँको अरू नै कार्यक्रम तय थियो ।”    

शिखर सम्मेलनमा जेलेन्स्कीलाई जी–७ का नेताहरूको ठूलो समर्थन प्राप्त भएको थियो, जसमा अमेरिकाले सहयोग गर्ने भनेको एफ–१६ लडाकू विमान पहुँचका लागि घोषणा पनि भएको थियो भने अन्य सहयोगी मुलुकबाट पनि लामो दूरीमा हान्न मिल्ने हतियारका लागि प्रतिबद्धता आएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here