प्रस, भिस्वा, ६ जेठ/
प्रहरीको मिलेमतोमा छिपहरमाई गाउँपालिकामा अहिले अवैध घरेलु मदिराभट्टी फस्टाएको छ । भारतीय सीमासँग जोडिएको यो गाउँपालिकामा अहिले पाँचवटाभन्दा बढी अवैध घरेलु मदिराभट्टी सञ्चालनमा छन् ।
वडा नं ३ को झलमैया, ४ को बन्जारी, ५ को भिस्वालगायत आधा दर्जन स्थानमा अवैध घरेलु मदिराभट्टी सञ्चालन भइरहेका छन् । अहिले घरेलु मदिराको दर पनि बढाइएको छ । पहिले रु ८० देखि १०० सम्म पाइने घरेलु मदिरा अहिले भारतीयहरूका कारण भारु १२० मा बिक्री भइरहेको छ । सीमापारि बिहार राज्यमा मदिरा निषेधित भएकोले सिकटा र आसपासका मानिसहरू मदिरासेवनको लागि भिस्वा आउने गर्छन् ।
त्यसैगरी, यहाँको अवैध घरेलु मदिरा चोरबाटो भारत पुर्याउने गरिन्छ । छिपहरमाईमा अवैध घरेलु मदिरा सञ्चालनमा रहेको र भिस्वामा निर्बाध बिक्री हुनुका साथै सीमापारि सिकटा जाने गरेको प्रहरीलाई थाहा नभएको कुरा होइन । अवैध मदिराभट्टी सञ्चालन रहेको क्षेत्रमा बुढगाई, भिस्वा, बन्जारी, टिहुकी प्रहरी चौकी छन् । यसका साथै सीमामा सशस्त्र प्रहरीको निगरानी छ तर अवैध घरेलु मदिराभट्टी सञ्चालकहरूले चौकी र सशस्त्र प्रहरीलाई महीनावारी दिएर यो धन्दा गर्दै आएका स्थानीयहरू बताउँछन् ।
प्रहरीकै नाकमुनि भइरहेको यो धन्दा फस्टाउनुमा प्रहरीको मिलेमतो रहेको स्थानीयहरू बताउँछन् ।
प्रस, पंचगावाँ/
पर्सा जिल्लाको पर्सागढी नगरपालिकाको झबराहामा सञ्चालित अवैध घरेलु मदिराभट्टी नियन्त्रण र रोकथाममा प्रहरी अहिलेसम्म असफल भएको छ ।
झबराहामा मात्र व्यावसायिकरूपमा तीन सय र व्यक्तिगत सेवनको लागि एक सय गरी चार सय मदिराभट्टी सञ्चालनमा छन् । दशकौंदेखि अवैध घरेलु मदिराभट्टी सञ्चालनमा रहे पनि प्रहरीले काम देखाउन कहिलेकाहीं मात्र छापामारी गरेर नष्ट गरेको देखावा गर्दै आएको छ । यहाँबाट उत्पादित मदिरा बाराका विभिन्न ठाउँ, पर्सा जिल्लाका धेरैजसो पालिका र सीमापारि भारतमा पुर्याइन्छ ।
प्रतिबोतल रु एक सयदेखि १५० पर्ने र यहाँको मदिरा अन्यत्रभन्दा राम्रो भएकोले माग बढी छ । अहिले ट्युब, प्लास्टिकको झोलामा मदिरा भरेर गन्तव्यमा पुर्याइन्छ । ठूलो सङ्ख्यामा अवैध घरेलु मदिरा सञ्चालन भइरहेको र यसको रोकथाम नहुँदा स्थानीयदेखि जिल्ला तहसम्म सेटिङ भएको आरोप छ ।
यसैगरी, झबराहाबाहेक सखुवाप्रसौनी गाउँपालिका–१ मधुवन मथवल, सिद्धपुर, पटेर्वासुगौली गापा–२ को चापी, थरघट्टी, रामभौरीभाठा, ठोरी गापाको सुवर्णपुर, निर्मलबस्ती, गोपीबस्ती, आठघरे, रामनगरलगायतका क्षेत्रमा अवैध मदिराभट्टी सञ्चालन हुँदै आएका छन् ।
घरेलु मदिराभट्टीबारे प्रहरीमा जानकारी नभएको होइन तर यसविरुद्धको अभियान अहिलेसम्म सञ्चालन हुन सकेको छैन । जसले गर्दा अवैध घरेलु मदिराभट्टी पर्सा जिल्लामा दिनानुदिन बढ्ने क्रममा छन् ।