दिनेश मिश्र, वीरगंज, ५ जेठ/
भोजपुरी समाजको आयोजनामा भोजपुरी भाषा र संरक्षण तथा विशेषताबारे साउथजोन माविमा प्रशिक्ष्Fण कार्यक्रम सम्पन्न भएको छ ।
समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीले निरन्तररूपमा भोजपुरी भाषाको विशेषता तथा लोप भइरहेका भोजपुरी लोकसंस्कृतिको विषयमा समाजले विद्यालयस्तरबाट जागरण कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
वीरगंज–१३ राधेमाईस्थित साउथजोन माविमा अध्ययनरत छात्रछात्राहरूलाई आज भोजपुरी भाषाबारे जानकारी गराइएको थियो ।
विद्यालयका प्रधानाध्यापक सरोज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका अध्यक्ष ठकुरीले आफूद्वारा रचित भोजपुरी गीत सुनाएका थिए । उनले समाजबाट परम्परागत भोजपुरी गीतहरू लोप भएका र अश्लीलता हाबी भएकोले भोजपुरी भाषाप्रति आकर्षण घटेको बताए । उनले समाजले भोजपुरी भाषाको उत्थानका लागि काम गरिरहेको र आगामी केही वर्षमा यसको प्रतिफल देखिने बताए ।
समाजका सचिव राजेन्द्र सिंह राजपूतले भोजपुरी भाषाको संरक्षण र स्वास्थ्य क्षेत्रमा विद्यार्थीहरूलाई निश्शुल्क प्रशिक्षण दिंदै आएको बताए ।
कार्यक्रममा रमिता महर्जनले विद्यार्थीहरूलाई स्वस्थ प्रजनन शिक्षाको बारेमा प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा सन्दीप साह, अनीता कुँवर, मनोज मिश्र, सञ्जय गुप्ता, लालबाबू सिंह, राजकुमार सर्राफ, विशाल पटेल, अनिशकान्त कुशवाहालगायतको सहभागिता थियो ।