राधेश्याम पटेल, परवानीपुर, ४ जेठ/

वीरगंज–१७ अलौंमा अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने कार्य बिहीवारदेखि शुरू भएको छ । अलौंको मुंसीटोलामा रहेको साँघुरो सडकलाई साबिकको नक्शा अनुसार अतिक्रमित जग्गा खाली गराइ सडक र नाला निर्माणको काम शुरू भएको छ ।

वीरगंज महानगरपालिकाको सहयोगमा वडा कार्यालय अलौंले डोजर लगाएर सडक र पोखरीका अतिक्रमित जग्गा खाली गराउन लागेको वडाध्यक्ष सञ्जीवबहादुर छतकुलीले बताए । आज बिहानदेखि अलौंको मुंसीटोलाका ललन साह, सोनालाल पटेल, दरोगा पटेल, वीरबहादुर पटेल, गौरीशङ्कर यादव, पन्नालाल पटेललगायतका घर डोजर लगाएर भत्काइएको छ ।

उनीहरूले सार्वजनिक जग्गा मिचेका थिए । यसअघि वडा कार्यालयले सडकको साबिक लम्बाइ–चौडाइ निकाल्न महानगरपालिकाबाट अमिन खटाएर चिनो लगाएको थियो ।

त्यस्तै, पोखरीको अतिक्रमित जग्गा खाली गर्न तीन दिनको अल्टिमेटम दिइएको वडाध्यक्ष छतकुलीले बताए ।

नगरप्रमुख राजेशमान सिंह पनि अतिक्रमणविरुद्धको अभियानमा सक्रिय देखिएका थिए । घटनास्थलमा पुगेका नगरप्रमुख सिंहले ३२ वटै वडामा अतिक्रमणविरुद्धको अभियान सञ्चालन भइरहेको र सार्वजनिक, ऐलानी जग्गा अतिक्रमणमा परेको सूचना प्राप्त भए हटाउने भन्दै उनले यसबारेमा सूचना दिन आग्रह पनि गरे ।

अलौंमा भएको अतिक्रमणविरुद्धको अभियानमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक वडाध्यक्ष प्रदीप चौरसिया, वडाध्यक्ष जगतसाह कानू, नेकाका ओमकृष्ण लामिछाने, सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगरप्रहरी प्रमुख हरि भुसाललगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here