खोलाहरूले खेत र बस्ती खाँदैछन् । खोला अनियन्त्रित भए, नियन्त्रण गर्न कोही चनाखो भएन, सरकारको काम त जहिले पनि झारा टराईमात्र हुन्छ । खोलाहरू किन अनियन्त्रित भए, प्राकृतिक कारणले वा मानिसकै लापरवाहीले । यस प्रश्नको तहसम्म नपुगुन्जेल समस्याको समाधान निस्कँदैन । खोला भनेको वर्षात्को पानी चारैतिरबाट एक ठाउँमा जम्मा भएर बग्ने पानीको बहाव हो । जुन खोलाको उद्गम हुन्छ, त्यसमा वर्षैभरि पानी बगिरहन्छ, त्यसको स्वभाव र प्रकृति थाहा पाउन सकिन्छ । तर जुन खोला (खहरे) वर्षात्का बेला मात्र बग्छ, त्यसको प्रकृति र स्वभाव थाहा हुँदैन । उसले बग्ने बाटोमा अलिकति पनि तलमाथि भयो भने जताबाट पनि बग्न सक्छ । नियमित नबग्ने हुँदा यसका किनारहरू बलिया हुँदैनन् । अनि यी खोलाहरूमा एक्कासि बाढी आउँछ, कुन ठाउँमा बढी पानी पर्यो, त्यहाँको किनार भत्काउँदै उब्जावाल जग्गा नाश गर्दै हिंड्छ । केही वर्षको अन्तरालमा बस्तीसम्म पुग्छ । धनुषा जिल्लाको चारनाथ खोला यस्तै स्वभाव र प्रकृतिको हो । यसर्थ यसबाट हुने क्षति रोक्न नागरिक र सरकार दुवैले विवेकपूर्ण र नियमित दायित्व निर्वाह गर्नुपर्छ ।
चारनाथ खोलाबारे आएको समाचारमा यसको भुइँ सतह भरिएर पानी जथाभावी बग्ने समस्या देखिएको छ । यो खासै ठूलो समस्या होइन, साथै किनारहरूमा पानीलाई रोक्न सक्ने प्रजातिका बोट बिरुवा लगाउनु पनि महाभारतको युद्ध जित्नुजति कठिन होइन । सरकारको तत्परतामा बाँध बाँधेर तटबन्ध गर्नु अलि कठिन हुन सक्छ, किनकि त्यसका लागि ठूलो लगानी चाहिन्छ । हामीकहाँ राष्ट्रिय गौरवका आयोजनाहरू त अलपत्र परिरहेको अवस्थामा एउटा जाबो खोलालाई तटबन्ध गर्नु शासकहरूको दायित्वभित्र पर्नैसक्दैन । कुरा चारनाथजस्तो खहरे खोलाको मात्र होइन, तराईमा बग्ने सोझा, नियमित बहाव भएका नदीहरू पनि आज अनियमित भइसकेका छन् । नदीको सबैभन्दा ठूलो समस्या हो, यसको सतह भरिनु । सतह कि बालुवा, ढुङ्गाले भरिन्छ कि माटोले । बालुवा–ढुङ्गाले भरिएको सतहलाई त अवैध तरीकाले भए पनि क्रसर उद्योगहरूले तह लगाउँछन् तर तिनले सतह तह लगाउने एउटा राम्रो कामको साटो दशवटा नचाहिंदो काम गरेर समस्या झन् बल्झाइदिन्छन् । त्यो हो, अत्यधिक दोहन । बढी ढुङ्गा–बालुवा थुप्रिनु जसरी हानिकारक हुन्छ, धेरै ढुङ्गा–बालुवा झिक्नु झन् अभिशाप बन्छ । खोलामा माटो भरिने समस्या पनि पत्तो नलाग्ने होइन ।
दुनियाँको सबैभन्दा विकराल नदी ह्वाङ्होमा बाँध–पुल बनाउँदाका बेला चीनसँग न त्यति पैसा थियो, न उन्नत प्रविधि नै । तर उसले बनायो । किनकि त्यहाँका शासकमा उच्च इच्छाशक्ति थियो, नागरिकमा ‘अभिशाप’ भनिने ह्वाङ्होलाई तह लगाउने दुर्दम्य कामना थियो । त्यही इच्छाशक्ति सरकारमा र त्यहीं लगनशीलता नागरिकमा उत्पन्न हुने हो भने असम्भव केही छैन । योग्य योजनाकार, सही नेतृत्व र नागरिकको जाँगरले पनि यो काम सहज बन्न सक्छ । तर हामी त, बरु भोकै बसूँला, काम सरकारको दायित्व हो, हातखुट्टा चलाउँदा स्वाभिमानमा धक्का पुग्छ भन्ठान्छौं । सरकारमा बस्नेहरूलाई त विभिन्न काण्डहरू गर्दैमा फुर्सत छैन । भर्खरै देशमात्र होइन, संसारै थर्काउने नकली भूटानी शरणार्थी प्रकरण उजागर भएको छ, विगतमा पनि कति भए कति १ कसले हेर्ने खोलाहरूलाई ?