बलिराम शुक्ला, बिरुवागुठी १ जेठ/

पर्सागढी नगरपालिकालगायत ग्रामीण भेगमा किसानले लगाएको चैते धान बाली सुक्न थालेको छ । लामो समयदेखि वर्षा नहुँदा र अत्यधिक घाम र तातो हावा चल्दा चैते धानबाली पहेंलिएर सुक्न थालेको छ ।

किसानहरूले कुलो तथा बोरिङबाट धानखेतीमा सिंचाइ गरे तापनि अत्यधिक गर्मी र तातो हावाको कारण धानको पातहरू पहेंलो भई सुक्न थालेको हो । चैते धानबाली लगाएका पर्सागढी नपा–३ का किसान नन्दलाल चौधरीले लामो समयदेखि वर्षा नहुँदा र अत्यधिक गर्मी तथा तातो हावाको कारण धानको बोट सुक्न लागेको बताए । कुलो र बोरिङबाट जतिसुकै सिंचाइ गरे तापनि धानखेतीमा कुनै असर नपरेको उनको गुनासो छ । उनले अब पनि वर्षा नभए चैते धानबालीको उत्पादन घट्ने बताए ।

पर्सागढी नपाका कृषि प्राविधिक खडकप्रसाद खत्रीले धानबालीमा फडके कीरा लागेको छैन र धानको बोट माथिबाट सुक्दै आइरहेको छ भने गर्मीको कारण हुन सक्ने बताए । उनले पहिलो चरणको युरिया नछर्ने किसानहरूले सिंचाइ गरी प्रतिकठ्ठा तीन किलोको दरले युरिया छर्न सुझाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here