दिनेश मिश्र, वीरगंज, १ जेठ/

बहुदरमाई नगरपालिका–८ रामनगरीमा पहलवान नरेश गिरीले कुश्तीको अखाडा तयार गरी निश्शुल्क प्रशिक्षण दिंदै आएका छन् ।

विगत तीन वर्षदेखि सञ्चालित श्रीराम भक्त हनुमान अखाडामा अहिले पर्सा, बारा, रौतहटका ३० जना पहलवान दैनिक बिहान प्रशिक्षण लिने गरेका छन् । पहलवान गिरीले यस अघि विन्ध्यवासिनी गाउँपालिकाको हसवामा पहलवानीको प्रशिक्षण दिंदै आएका थिए । २२ वर्षसम्म सो ठाउँमा उनले सामान्य अखाडामा पहलवानहरू तयार गरेको बताए । अहिले तीन वर्षदेखि बहुदरमाई नपामा व्यवस्थित अखाडा तयार गरेर पहलवानहरू तयार गर्दैछन् ।

उनले तयार गरेका पहलवानहरू अहिलेसम्म विभिन्न खेलहरूमा सहभागी भएर गोल्डमेडल जितेका छन् । पाँचौं राष्ट्रिय खेलकूद, नवौं राष्ट्रिय खेलकूद, श्रीलङ्कामा भएको दशौं सार्क खेलकूद, बङ्गलादेशमा भएको ११औं सार्क खेल, दक्षिण कोरियामा भएको एशियन खेल, नर्भेमा भएको विश्व च्याम्पियन र इरान, दुबई, कतारजस्ता देशमा हुने गरेको कुश्ती प्रतियोगितामा पहलवान गिरीले तयार पारेका पहलवानहरू सहभागी भएर विभिन्न पदकहरू पाएको उनले बताए ।

पहलवान गिरी सरकारबाट तोकिएका प्रशिक्षक होइनन् । उनले आफै अखडा तयार गरेका छन् र उनको अखडामा तीन जिल्लाबाट पहलवानी सिक्न पहलवानहरू आउने गर्छन् । पहलवानी सिकाएबापत उनले शिष्यहरूबाट थोरबहुत पाउने सहयोगमा आश्रित छन् । बहुदरमाई नपा–८ का वडाध्यक्ष पुनीलाल साह तेलीले पहलवानी खेलको प्रवद्र्धनका लागि आगामी बजेटमा रु तीन लाख छुट्याउने बताए । उनले पहलवानहरूको लागि शौचालय, स्नानघर र अखाडालाई तारजालीले घेर्ने, व्यवस्थापन मिलाउने बताए । उनले पहलवान गिरीको लागि मासिक १० लिटर इन्धनको व्यवस्था गर्ने प्रतिबद्धता जाहेर गरे ।

सरकारको तर्फबाट पहलवानका प्रशिक्षक धर्मराज यादवले नारायणी रङ्गशालामा अखडा नभएको र प्रशिक्षणका लागि खेलाडीहरू पनि नआउने गरेको बताए । उनी २०५२ सालदेखि पहलवानका प्रशिक्षक नियुक्त भएर काम गर्दै आएका छन् । दैनिक नारायणी रङ्गशाला पुग्छन् तर प्रशिक्षण लिन कोही आउँदैन, उनी ड्युटी गर्छन् र फर्कन्छन् । प्रशिक्षक यादवले कहिलेकाहीं राधेमाई र मिर्जापुर अखाडाबाट प्रशिक्षणका लागि सहयोग माग्ने गरेको र त्यहाँ गएर प्रशिक्षित गर्ने गरेको बताए । उनले पहलवानी खेल महँगो भएको र मासिक खानामा मात्र १५ हजारभन्दा बढी लाग्ने गरेकोले यो खेलप्रति आम मानिसको रुचि कम भएको बताए । आफ्नो खर्चमा पहलवानी गर्नेहरूको सङ्ख्या कम भएकोले यसमा सरकारले ध्यान दिनुपर्ने सुझाव दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here