ढाका, १ जेठ/सिन्ह्वा
बङ्गालको खाडीमा एक दशक यताकै सबैभन्दा ठूलो आँधी ‘मोचा’ले आइतवार म्यान्मा र दक्षिणपूर्वी बङ्गलादेशमा क्षति पुर्याएको छ ।
करीब २०० माइल प्रतिघण्टाको रफ्तारमा आएको आँधीबेहरीले विशेष गरी बङ्गलादेशको दक्षिणपूर्वी कक्स बजार जिल्ला र यसको अपतटीय टापूमा अत्यधिक क्षति पुगेको जनाइएको छ ।
कक्स बजार जिल्लाका डेपुटी कमिश्नर तथा डिस्ट्रिक्ट म्याजिस्ट्रेट शाहीन इमरानले सिन्ह्वालाई बताए अनुसार आँधीले घर र बालीनालीमा क्षति पुर्याएको छ र रूखहरू ढलेका छन् ।
अधिकारीका अनुसार कक्स बजारमा आएको आँधीका कारण कम्तीमा १२ हजार घर पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका छन् ।
उनले प्रभावित विकट क्षेत्रबाट जनधनको क्षतिबारे आधिकारिक च्यानलमार्फत सूचना सङ्कलन भइरहेको जानकारी दिए । म्यान्माबाट आएका करीब १० लाख रोहिङ्या शरणार्थी रहेको बङ्गलादेशको कक्स बजार जिल्लाको शिविरमा रहेका सयौं अस्थायी आश्रयस्थलमा पनि क्षति पुगेको छ ।
अधिकारीहरूले आँधीका कारण प्रभावित क्षेत्रमा कुनै हताहती नभएको बताएका छन् ।
बङ्गलादेशका विपद् व्यवस्थापन तथा राहत राज्यमन्त्री एनामुर रहमानले कोक्स बजार जिल्लामा प्रभावितलाई सहयोग गर्न पर्याप्त कदम चालेको बताएका छन् ।
कोक्स बजारको तटीय जिल्ला र सेन्ट मार्टिन टापूसहित यसको अपतटीय टापूहरूमा खतरनाक सङ्केतसहित आँधीले अवतरण गरेको थियो ।
बङ्गलादेशको मौसम विभागका निर्देशक मोहम्मद अजिजुर रहमानका अनुसार सेन्ट मार्टिन टापूमा हावाको गति स्थानीय समय अनुसार आइतवार दिउँसो २:०० बजे अधिकतम १४७ किलोमिटर प्रतिघण्टा पुगेको थियो । राजधानी ढाकाबाट करीब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको तटीय कक्स बजार जिल्लाको सेन्ट मार्टिन टापूमा व्यापक बाढी आएको टिभी फुटेजमा देखिएको छ ।
मोचाले देशको अन्तिम सीमा पार गर्न थालेको छ, यसको आधा भाग म्यान्मातर्फ र बाँकी आधा बङ्गलादेशतर्फ गएको छ । बङ्गलादेशको कक्स बजार र म्यान्माको सिट्वेको बिचमा १९५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा बतास चलेको रहमानले बताए ।
उनले मोचा पहिले नै कमजोर भइसकेको तर बङ्गलादेशको राजधानी ढाकालगायत केही स्थानमा सोमवार पनि मौसम खराब रहने बताए ।
बङ्गालको खाडीमा माछा मार्ने डुङ्गा, र समुद्री पानीजहाजलाई अर्काे सूचना जारी नभएसम्म सुरक्षित स्थानमा बस्न भनिएको छ । रासस