प्रस, रौतहट, ३१ वैशाख/
धोबिनिया हत्याकाण्डका अपराधीमाथि कारबाई माग गर्दै आइतवार पीडित परिवारले गौरमा विरोध जुलूस प्रदर्शन गरेको छ ।
गौर नगरपालिकाको विपी चोकबाट शुरू भएको विरोध जुलूस नगरपरिक्रमा गर्दै जिल्ला न्यायाधीश मूर्दाबादजस्ता नारा लगाएका थिए ।
पक्राउ परेका पाँचजनामध्ये रामएकबाल राय यादव, रामसेवक राय यादव र दिनेश राय यादवलाई रौतहट जिल्ला अदालतले धरौटीमा रिहा गरेको विरोधमा आज विरोध जुलूस प्रदर्शन गरेको पीडित पक्षले बतायो ।
वैशाख २ गते दिउँसो ४ बजे गढीमाई नगरपालिका–८ धोबिनिया टोलको सार्वजनिक सडकको विषयमा वादविवाद हुँदा गोली प्रहार भएको थियो । गोली लागेर राजकुमार यादवको मृत्यु भएको थियो । निरञ्जन यादव, बालधरराय यादव, रामप्रतापराय यादव, कपिलदेव राय यादव गोली लागी घाइते भएका थिए ।
सो घटनामा श्यामकिशोर यादव, रामबहादुर राय यादव, राम एकबालराय यादव, रामसेवकराय यादव, दिनेशराय यादवलाई प्रहरीले पक्राउ गरेको थियो । रामईश्वरराय यादव र राजेश्वरराय यादव फरार छन् ।
जिल्ला सरकारी वकिल कार्यालय रौतहटले निजहरूमाथि जन्मकैदको माग दाबी गरेको थियो ।
पीडित अञ्जुदेवी, रामनारायणराय यादवले पत्रकार सम्मेलन गरी आफूहरू अब झन् असुरक्षित भएको बताएका छन् । दोषीले हत्याकाण्डमा उन्मुक्ति पाएपछि गाउँघरमा धाकधम्की दिंदै हिडेकोले आफूहरू र घटनाका साक्षीहरूमा सुरक्षा विषयलाई लिएर डर पसेको उनीहरूले बताए ।