प्रस, वीरगज, ३१ वैशाख/
पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फर्म प्रालिको प्रदूषणको विवाद लेनदेनको आधारमा सुल्झिएको स्थानीयले आरोेप लगाएका छन् ।
राजनीतिक दलका केही नेता तथा गाउँका केही युवाहरूले सञ्चालकसँग आर्थिक लेनदेन गरेर प्रदूषणविरोधी आन्दोलन तुहाउने प्रयास गरेको स्थानीयको आरोप छ । उनीहरूले प्रदूषण विरुद्ध आन्दोलन चर्काएर कारखाना बन्द गर्नेसम्मको अवस्थामा पुगेपछि आर्थिक लेनदेन गरेर आन्दोलन तुहाउन खोजिएको बताएका छन् । शिवम् लेयर्समा कुखुराको चल्ला उत्पादन हुन्छ । कुखुराबाट निस्कने फोहर र दुर्गन्धको कारण आसपासका आधा दर्जन गाउँ प्रभावित हुँदै आएका छन् ।
सो सम्बन्धमा राखिएका माग सम्बोधन नगरी आन्दोलनका अगुवाहरू पछि सरेपछि स्थानीयले शिवम्ले आर्थिक प्रलोभनमा पारेको आरोप लाग्न थालेको हो । गापा कार्यालयले यस अघि कारखाना बन्द गर्न पत्राचार गरेको थियो । त्यसपछि अनुगमन पनि भयो र स्थानीयले प्रदूषणको सवालमा मिलापत्र नहुने अडान दोहर्याएका थिए ।
गापा उपाध्यक्ष ममता महतो, वडाध्यक्षहरू सबैजना प्रदूषणको विरोधमा थिए । अहिले उनीहरू शिवम्को पक्षबाट वकालत गर्न शुरू गरेको स्थानीयले आरोप लगाएका छन् । शिवम् लेयर्स फार्म प्रालिले पछिल्लो समयमा प्रदूषण रोकथाम गर्ने प्रक्रिया अघि बढाएको दाबी गरेको छ ।
फार्मबाट निस्कने कुखुराको सुली यस अघि मासिक बिक्री गर्ने गरेकोमा अहिले आधा मूल्य घटाएर एक दिन बिराई बिक्री गरिएको, झिङाको प्रकोप हटाउन विषादि प्रयोग गरेको र अवस्था निकै फेरिएको दाबी गरिएको छ । प्रदेशसभा सदस्य प्रमोद जयसवालले स्थानीयको गुनासोपछि फार्मका सञ्चालक शिवजी गुप्तालाई प्रदूषण सम्बन्धमा ध्यानाकर्षण गराउँदा सो कुरा बताएका थिए ।
प्रदेशसभा सदस्य जयसवालले पहिलेको तुलनामा अहिले केही मात्रामा प्रदूषण र झिङाको प्रकोप कम भएको बताए । तर सन्तुष्ट हुने वातावरण बनि नसकेको र फार्मले प्रदूषण र झिङाको प्रकोप कम गर्न ठोस पाइला चाल्न बताएका छन् । उनले कारखानाभन्दा ठूलो गाउँलेहरूको जीवन नभएको बताउँदै आफ्नो उद्देश्य कारखाना हटाउनु नभएको तर त्यसको विकल्प दिनैपर्ने अडान राखेका छन् ।
गापा अध्यक्ष दिनेश चौधरीले प्रदूषण र झिङाको प्रकोप केही कम भएको तर सन्तोषजनक नभएको बताएका छन् । उनले प्रदूषणविरुद्ध कानूनी बाटो अवलम्बन गरिने बताए । हिजोसम्म गापा कार्यालयबाट कारखाना बन्द गराउने अभियानमा लागेका अध्यक्षसहित जनप्रतिनिधिहरूको क्रियाकलापमा परिवर्तन आएको र अब अदालतबाट न्याय माग गर्ने कुरा बाहिरिएपछि स्थानीय निराश भएका छन् ।
अदालतबाटै निदान खोज्नुथियो भने जनतालाई सडकमा ओरार्ले काम किन भयो, गापा कार्यालयले अनुगमन गरेर कारखाना बन्द गर्न किन पत्राचार गर्यो जस्ता कुरा स्थानीयले उठाइरहेका छन् ।
गाउँलेहरूले जनप्रतिनिधि बिके पनि आम जनताले यसको प्रतिकार गर्ने र प्रदूषण तथा झिङाको प्रकोप कम नभए अर्काे बाटो अख्तियार गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
फार्मबाट उत्पन्न वायु प्रदूषण तथा झिङाका कारण पटेर्वासुगौली गापाका मकवानीटोल, बैजनाथपुर, वनकटवा, चापी, भाथा, थरघटी, धर्मबस्ती, रामपुरका बासिन्दा प्रत्यक्ष प्रभावित हुँदै आएका छन् । गर्मी बढेसँगै कारखानाले यसको उचित व्यवस्थापन गर्नुपर्ने देखिन्छ । प्रदूषण र झिङाको प्रकोपको कारण गाउँलेहरू दैनिक जीवन कष्टकर हुँदै गएको छ ।