प्रस, वीरगंज, २९ वैशाख/
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक शिथिलताका कारण निजी क्षेत्रका उद्योग हतोत्साहित भएको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशले वीरगंजमा आयोजना गरेको नेउवामहासङ्घका नवनिर्वाचित पदाधिकारीहरूको स्वागत कार्यक्रममा उनले अहिले देखिएको आर्थिक शिथिलता, उद्योग–व्यापारको खस्किंदो अवस्था, राजस्व सङ्कलनमा आएको गिरावट र बैंक तथा वित्तीय संस्थाहरूमा देखिएको तरलता अभावका कारण निजी क्षेत्र हतोत्साहित हुन पुगेको बताए । उनले यस किसिमको परिस्थितिको निराकरण गर्न महासङ्घले पहल गरिरहेको बताए ।
उनले निजी क्षेत्रको मर्यादाक्रम निर्धारण गर्ने विषय उठिरहेको छ, यसलाई पनि कसरी स्थापित गर्न सकिन्छ त्यसतर्फ पहल गर्ने बताए ।
महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले मुलुकको सामु विद्यमान आर्थिक अन्योलता र बिग्रँदो सुशासनको अवस्थाले निजी क्षेत्र निराश भएको बताए ।
उनले वीरगंज र मधेस प्रदेशले बोकेको अपार आर्थिक सम्भावना र अवसरलाई राष्ट्रिय प्राथमिकताको बहसमा ल्याउन महासङ्घका अध्यक्ष ढकाललाई आग्रह गरे ।
कार्यक्रममा सहभागीहरूले दोहोरो कर, चालू पूँजी कर्जा निर्देशिका २०७९, भन्सारबाट छुटेका मालवाहक सवारीसाधनलाई आशङ्काको भरमा प्रहरीले समातेर राजस्व अनुसन्धानमा बुझाउने बढ्दो प्रवृत्ति, पर्सामा एउटा छुट्टै औद्योगिक क्षेत्रको सञ्चालन, भन्सार, राजस्वसँग सम्बन्धित नीतिगत जटिलतालगायतका विषयहरूलाई निराकरण गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष निरक केसी, केन्द्रीय सदस्य सुबोधकुमार गुप्ता, मधेस प्रदेशका निवर्तमान अध्यक्ष गणेशप्रसाद लाठ, मधेस प्रदेशका उपाध्यक्ष जीतेन्द्र महासेठ, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवाललगायतको सहभागिता थियो ।