प्रस, वीरगंज, २९ वैशाख/
नेपाल राष्ट्रिय आधारभूत विद्यालय, चैनपुरलाई नेपाल बैंक लिमिटेडले भवन हस्तान्तरण गरेको छ । बारा, परवानीपुर गाउँपालिका–४ स्थित विद्यालयका प्रधानाध्यापक मदन पटेललाई नेपाल बैंक लि.का कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले शुक्रवार भवन हस्तान्तरण गरेका हुन् ।
२०७७ सालमा आएको चक्रवातमा परवानीपुर गापाको चैनपुरमा १५० वटा घरमा आंशिक क्षति तथा ८० वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका थिए । सोही बखत विद्यालय भवनमा पनि क्षति भएको थियो । बैंकले एक वर्षमा गर्ने सामाजिक उत्तरदायित्वका कामलाई एकमुस्ट विद्यालय भवन निर्माणमा खर्चेको थियो । रु ५० लाखको लागतमा सात कोठे पक्की भवन निर्माण गरेर बैंकले आज विद्यालयलाई हस्तान्तरण गरेको हो ।
कक्षा ८ सम्म अध्यापन हुने विद्यालयमा सात कोठे थप पक्की भवन बैंकले निर्माण गरी हस्तान्तरण गरेपछि विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, अभिभावक, विद्यार्थीहरू खुशी भएका छन् ।
नेपाल बैंक लि. मधेस प्रदेशका प्रमुख प्रदीपकुमार पाठकको अध्यक्षता तथा गापा अध्यक्ष रामक्षेत्रीप्रसाद पटेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गापा उपाध्यक्ष सुगन्धी देवी, प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार, वडाध्यक्ष गम्भीराराउत कुर्मी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम ठाकुर, राष्ट्रिय वाणिज्य बैंक मधेस प्रदेशका उपप्रमुख सन्ध्या सिंहलगायतको सहभागिता थियो ।
कार्यक्रममा बैंकका प्रबन्धक सुनील घिमिरेले स्वागत र प्रअ मदनप्रसाद कुर्मीले आभार व्यक्त गरेका थिए ।