प्रस, वीरगंज, २४ वैशाख/
वीरगजलगायत आसपासका क्षेत्रमा नेपाली नक्कली नोट छ्याप्छ्याप्ती भेटिन थालेको व्यापारीहरूले बताएका छन् ।
देशको अर्थतन्त्र धराशयी भइरहेको बेला नेपाली बजारमा सक्कली नोटको अभाव भएको मौका छोपी नक्कली नोटको कारोबार बढेको छ । नक्कली नोटको कारोबार गर्नेहरूको चहलपहल बढेको छ ।
स्रोत अनुसार वीरगंज, कलैया, सिमरा, जीतपुर र पर्सा जिल्लाका ग्रामीण भेगमा १० करोडभन्दा बढी नेपाली नक्कली नोटको कारोबार भएको स्रोतको दाबी छ । सोझासाझा व्यक्तिहरूको हातहातमा नक्कली नोट भेटिन थालेको छ । अस्पतालदेखि किरानापसलमा नक्कली नोट पुगेको स्रोतको भनाइ छ ।
तरकारी वा सामान किन्न आएका सर्वसाधारणले नक्कली नोट दिएको देख्दा पसलेहरूले सोझा जनतालाई फसाउनुको सट्टा सचेत गराएर पठाउने गरेको एकजना पसलेले बताए । सर्वसाधारणले नक्कली नोट दिंदा पसलेहरूले नोट पहिचान गर्ने र सोझा ग्राहकलाई किन फसाउने बरु नक्कली नोट हो लुकाएर लैजानुस् भन्न थालेको उनले बताए ।
यस भेगमा नक्कली नोटको बिगबिगी भएकोबारे पर्सा प्रहरीले पनि पुष्टि गरिसकेको छ । वैशाख २० गते सूचनाको आधारमा प्रहरीले वीरगंज, बाइपास सडकबाट चार लाख ८६ हजार नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको थियो । बिआर०१ पिजी ६५७७ नम्बरको स्कार्पियो चेकजाँच गर्ने क्रममा प्रहरीले एक हजार र पाँच सयका नक्कली नोटसहित सर्लाही गोडैता नगरपालिका–१२ मधुवनी निवासी आनन्दवर्दन सिंह र बारा, परवानीपुर गाउँपालिका–३ निवासी ओमप्रकाश साहलाई पक्राउ गरेको थियो ।
त्यसैगरी, चैत १८ गते पर्साको जगरनाथपुर गापा–४ बाट पाँच सयको नक्कली नोटसहित तीनजना नाबालकलाई पर्सा प्रहरीले पक्राउ गरेको थियो । ती नाबालकहरूले स्थानीय पसलमा सामान किन्न गएको बेला पसलेले नक्कली नोट चिनेपछि प्रहरीको जिम्मा लगाएका थिए ।
यी घटनाले नेपाली नक्कली नोटको सञ्जाल पर्साका गाउँगाउँसम्म पुगिसकेको पुष्टि गरेको छ ।