काठमाडौं, १८ वैशाख/रासस
एसिसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच फाइनल खेल वर्षाका कारण स्थगित भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सोमवार भएको फाइनल खेल वर्षाका कारण प्रभावित बनेपछि भोलिका लागि सारिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार भोलि हुने खेल आजकै निरन्तरता हुनेछ । अर्थात् आज रोकिएकै ओभरबाट भोलि बिहान ९ बजेदेखि खेल शुरू हुनेछ ।
आजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव ३ ओभरमा नौ विकेटको क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि लगातार वर्षा भएपछि खेल हुन सकेन र भोलिसम्मका लागि स्थगित भएको हो ।
खेल रोकिनुअघि युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाएका थिए । उनले ५४ बल खेल्दै एक छक्का र सात चौका प्रहार गरे । त्यस्तै, आर्यन लाक्राले १३, मोहमद वासिमले ११ र बसिर हमिदले १० रन बनाए ।
नेपालका लागि ललित राजवंशीले तीन विकेट लिएका थिए भने करण केसी र सन्दीप लामिछानेले दुई/दुई विकेट लिए । त्यस्तै, गुलशन झा र सोमपाल कामीका नाममा एक/एक विकेट रह्यो ।
यसअघि नेपाल समूह ‘ए’को विजेता बन्दै फाइनलमा पुगेको थियो । सेमिफाइनलमा कुवेतसँगको खेल वर्षाको कारण नतीजाविहीन भएपछि नेपाल समूह विजेताका रूपमा फाइनलमा पुगेको हो । साथै युएईले सेमिफाइनल खेलमा ओमानलाई दुई रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।