मनिला, १८ वैशाख/सिन्ह्वा
फिलिपिनी राष्ट्रपति फर्डिनान्ड मार्कोसले उनको अमेरिका भ्रमणका क्रममा अमेरिकी समकक्षी जो बाइडेनसँग सोमवार हुने भेटवार्ताअघि फिलिपिन्सलाई सैन्य कारबाहीका लागि ‘स्टेजिङ पोस्ट’ बन्न नदिने बताएको छ । फिलिपिन्स र यस क्षेत्रका सहयोगी राष्ट्रहरूले चीनको बढ्दो आक्रामकता र विवादित पानी, टापुहरू र किनारहरूमा चीनको व्यापक दाबीको सामना गर्न चाहन्छन् । यसैका लागि मनिलाले हालै वाशिङ्टनलाई थप फिलिपिनी सैन्य अखडाहरूमा पहुँच प्रदान गरेको छ ।
“फिलिपिन्सलाई अन्य कुनै पनि देशले संलग्न गराउने कुनै पनि उत्तेजक कार्यलाई हामी प्रोत्साहन गर्नेछैनौं,” मार्कोसले आइतवार वाशिङ्टन जाने क्रममा विमानमा पत्रकारसँग भने । “हामी फिलिपिन्सलाई कुनै पनि प्रकारको सैन्य कारबाहीका लागि ‘स्टेज पोस्ट’को रूपमा प्रयोग गर्न दिनेछैनौं ।”
फिलिपिन्सको तटरक्षक बलको जहाजसँग ठोक्किएपछि दक्षिण चीन सागरमा ‘उत्तेजक र असुरक्षित आचरण’ रोक्न अमेरिकाले चीनलाई आग्रह गरेपछि मार्कोसको यो भ्रमण हुन लागेको हो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले शनिवार भने, “हामी बेइजिङलाई आफ्नो उत्तेजक र असुरक्षित आचरणबाट अलग रहन आग्रह गर्दछौं । मनिला र वाशिङ्टनबीच सन् १९५१ मा भएको पारस्परिक प्रतिरक्षा सम्झौता छ ।
अप्रिल २३ को घटना दुवै पक्षको हताहती निम्त्याउन सक्ने दुर्घटना नजीकको घटना थियो,” फिलिपिन्सको राष्ट्रपति भवनले जारी गरेको विज्ञप्तिमा मार्कोसले भने । “हामी यही कुराबाट बच्न चाहन्छौं,” उनले थपे ।
फिलिपिन्सका नेताले यसै वर्षको शुरूमा बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग दक्षिण चीन सागरमा अतिव्यापी दाबीसँग सम्बन्धित विषयमा ‘प्रत्यक्ष सञ्चार संयन्त्र’ स्थापना गर्न भएको सहमतिलाई पालना गर्न चीनलाई आग्रह गरेका थिए । मार्कोसका अनुसार मनिलाले आफ्नो टोली गठन गरेको छ भने बेइजिङले यस सम्बन्धमा अझै कुनै कदम चालेको छैन ।
बेइजिङले दक्षिण चीन सागरको लगभग सम्पूर्ण भूभागमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ र अन्तर्राष्ट्रिय अदालतको फैसलालाई बेवास्ता गरेको छ । मार्कोसले चीनलाई समुद्रमा फिलिपिन्सको अधिकार कुण्ठित हुन नदिने बताउँदै आएका छन् र रक्षा सम्बन्धलाई मजबूत बनाउन अमेरिकातर्फ आकर्षित भएका छन् ।
गत महीना फिलिपिन्सले चारवटा सैन्य अखडाको पहिचान गरेको थियो, जसमा पाँचवटा विद्यमान स्थलका अतिरिक्त अमेरिकी सेनाको पहँुचमा हुनेछ । जसमध्ये एउटा विवादित स्प्राट्ली टापु नजीक र दुईवटा ताइवानको सामना गर्नुपर्नेछ । रासस