प्रस, वीरगंज, १७ वैशाख/
नक्कली नोटसहित प्रहरीले जगरनाथपुर गाउँपालिका–४ बाट तीनजना नाबालकलाई पक्राउ गरेको छ ।
वैशाख १५ गते शुक्रवार तीनजना नाबालक जगरनाथपुर गापा–४ जगरनाथपुरस्थित किरानापसलमा सामान खरीद गर्न गएका र उनीहरूले दिएको तीनवटा रु पाँच सयको नोट शङ्का लागेर किरानापसलेले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीय प्रहरीले नक्कली तीनवटा नोटसहित नाबालकहरूलाई पक्राउ गरेको थियो । उनीहरूबाट नक्कली नोटको बारेमा थप कुरा खुल्न नसकेपछि जिल्ला प्रहरी कार्यालय, पर्सा पठाइएको थियो । स्थानीय प्रहरीले घटनाको भोलिपल्ट तीनजना नाबालकको घरमा छापामारी गरेको तर थप कुनै प्रमाण फेला नपरेको बताइएको छ ।
जिप्रका, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले १०, १२ र १६ वर्षीय तीनजना नाबालक नक्कली नोटसहित पक्राउ परेको पुष्टि गरे । उनले १६ वर्षीय नाबालकलाई हिरासतमा राखेर सोधपूछ भइरहेको र १० र १२ वर्षीय दुई नाबालकलाई अभिभावकको निगरानीमा सोधपूछ भइरहेको बताएका छन् । उनले नाबालकहरूले अरूबाट सो रकम पाएको तर दिने व्यक्तिको नाम बताउन नसकेको बताए ।
पर्साको ग्रामीण क्षेत्रबाट नक्कली नोट बरामद भएको घटनालाई प्रहरीले गम्भीरतापूर्वक लिएको छ । नक्कली नोट कारोबारीहरूले ग्रामीण क्षेत्रलाई लक्षित गरेर कारोबार शुरू गरेका र यसमा नाबालकहरूको प्रयोग भएको भन्दै अनुसन्धान गरिरहेको जिप्रका, पर्साले जनाएको छ ।