वाशिङ्टन, १६ वैशाख/एएनआई
आर्थिक सङ्कटको सामना गरिरहेको पाकिस्तानले संयुक्त राज्य अमेरिकालाई सैन्य वित्तपोषण र बिक्री पुनस्र्थापना गर्न आग्रह गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले वित्तपोषण कार्यक्रम स्थगित गरेको थियो ।
अमेरिकाका लागि पाकिस्तानका राजदूत मसूद खानले बिहीवार वाशिङ्टनमा आयोजित सेमिनारमा अमेरिकाले पाकिस्तानको लागि यसअघि अघिल्लो प्रशासनले निलम्बन गरेको विदेशी सैन्य वित्तपोषण र विदेशी सैन्य सामग्री बिक्री पुनस्र्थापित गर्नु महत्वपूर्ण रहेको बताएका छन् ।
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएयता अमेरिका–पाकिस्तान सम्बन्ध लामो समयदेखि अनिश्चिततामा फसेको छ । अहिले अमेरिका र चीनबीचको द्वन्द्वका कारण पाकिस्तानको अमेरिकासँगको सम्बन्ध चिसिएको छ ।
दक्षिण र मध्य एशियाका लागि अमेरिकी प्रमुख उपसहायक विदेशमन्त्री एलिजाबेथ होस्र्टले सङ्कटग्रस्त पाकिस्तानी अर्थतन्त्रको पुनर्निर्माणमा मदत गर्ने आवश्यकतामा ध्यान केन्द्रित गर्दै इस्लामाबादलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग काम गर्न आग्रह गरेको डनले उल्लेख गरेको छ ।
पाकिस्तान र आइएमएफले सहमति जनाएका सुधार सजिलो नभएको तर पाकिस्तानले देशलाई आर्थिक सबलताको स्थितिमा फर्काउनका लागि यी कदम चाल्नु आवश्यक रहेको एलिजाबेथ होस्र्टको बुझाइ रहेको छ ।
यसैबीच वाशिङ्टनले इस्लामाबादलाई आइएमएफसँग सहमति अनुरूपको कडा सुधारका कार्यक्रम लागू गर्न आग्रह गरेको छ ।
भर्खरै उच्चस्तरीय कूटनीतिक संलग्नता र बाक्लिंदै गएको वार्ता अमेरिकासँगको तनावपूर्ण सम्बन्ध सुधार्ने सन्दर्भमा पाकिस्तानका निम्ति सकारात्मक हुन सक्ने टिप्पणी गरिएको छ ।
विल्सन सेन्टर वाशिङ्टनमा आयोजित सम्मेलन थुप्रै चुनौतीपूर्ण घटनाक्रमको पृष्ठभूमिमा अमेरिका–पाकिस्तान सम्बन्धलाई कसरी सुधार्न सकिन्छ भन्नेमा केन्द्रित थियो ।
एक प्रश्नको जवाफ दिंदै राजदूत खानले पाकिस्तानले रूसी तेलको लागि पहिले आग्रह गरेको र अमेरिकी सरकारसँग परामर्श गरेर त्यसो गरेको पनि बताएका छन् ।
सो अवसरमा अफगानिस्तानमा स्थायित्व ल्याउन पाकिस्तानले खेल्ने भूमिकाबारे पनि छलफल भएको थियो ।
अफगानिस्तानमा भएको आतङ्कवादको वृद्धिप्रति अमेरिका र चीन दुवै चिन्तित रहेको उल्लेख गर्दै उनले यस खतरालाई उन्मूलन गर्न मिलेर काम गर्नुपर्ने धारण राखे ।
आतङ्कवाद आज पाकिस्तान र अफगानिस्तानका लागि खतरा बनेको छ । यसलाई नियन्त्रण गरिएन भने यसको असर अन्यत्र पनि देखिने उनको टिप्पणी छ । रासस