प्रस, रौतहट, १५ वैशाख/

वृन्दावन नगरपालिकामा ३८ दिनदेखि जारी रिले अनशन सहमतिमा समाप्त भएको छ ।

वृन्दावन नगरपालिका कार्यालयसँग विभिन्न सूचनाको माग गर्दै ३८ दिनदेखि जारी रहेको रिले अनशन बिहीवार दिउँसोबाट अन्त्य भएको हो ।

चैत ७ गतेदेखि वृन्दावन नगरपालिका वडा नं २, ३, ४ र ५ का चारजना वडाध्यक्ष र नगरप्रमुख पदका तीनजना उम्मेदवार रिले अनशनमा बसेका थिए । उनीहरूले राखेका मागमध्ये बैंक स्टेटमेन्ट उपलब्ध गराएको र बाँकी माग क्रमशः पूरा गर्दै जाने सहमतिमा रिले अनशन तोडिएको अनशनरत वृन्दावन नगरपालिका वडा नं ४ का अध्यक्ष श्यामनन्दन यादवले बताए ।

वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डे र अनशनकारीबीच पाँच बुँदे सहमति भएपछि रिले अनशन तोडिएको हो । रिले अनशन बस्ने पक्षबाट माग भएबमोजिमका सूचना कानूनसम्मतरूपमा कार्यालयले उपलब्ध गराउने, रिले अनशनमा नगरपालिकाका वडाध्यक्षहरूसमेत सहभागी भएकाले उनीहरूबाट कार्यालयसँग समन्वय गरी सूचना प्राप्त गर्ने, सुशासन कायम गर्न कार्यालयका तर्फबाट समयसमयमा सार्वजनिक सुनुवाइ आयोजना गर्ने, कार्यालयका तर्फबाट मागबमोजिम आर्थिक वर्ष २०७८/७९ को जेठ १ गतेदेखि हालसम्मको सञ्चित कोष, चालू र पूँजीगततर्फको बैंक स्टेटमेन्ट उपलब्ध गराउने, नगरवासी–राजनीतिक दल तथा जनप्रतिनिधिबीच सहकार्य तथा समन्वय कायम राख्ने सहमति भएपछि अनशन तोडिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here