बलिराम शुक्ला, बिरुवागुठी, १५ वैशाख/
पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले वडा नं ६ शिवटोलमा डोम समुदायका लागि एकीकृत बस्तीको शिलान्यास गरेका छन् ।
उनले अति पिछडिएको शिवटोलका डोम समुदायको आर्थिक अवस्था दयनीय रहेको र घरको छानोसमेत त्रिपाल तथा प्लास्टिकको भएका हुनाले बस्ती निर्माण गर्न लागिएको बताए ।
शिवटोलमा करीब एक सय डोम समुदायका बासिन्दा रहेको र उनीहरूको लागि पर्सागढी नपाले रु ७० लाखको लागतमा एकीकृत बस्ती निर्माण गर्न लागेको नगरप्रमुख पाठकले बताए । उनले ३२ वटा जस्ताको छाना भएको भवन, शौचालय, कम्पाउन्डसमेत हुने गरी दुर्ई महीनाभित्र बस्ती निर्माण गरी हस्तान्तरण गरिने बताए । बस्ती निर्माण हुने भएपछि शिवटोलका डोम समुदाय निकै खुशी भएको सुकनराउत डोमले बताए । कार्यक्रममा उपप्रमुख पूजा चौधरी, वडा नं ५ का अध्यक्ष नितेश मिश्र, कार्यपालिका सदस्य सीता लामालगायतको सहभागिता थियो ।